दाहालसँग यसरि वैद्यसग नजिकिँदै, भट्टराई टाढिँदै
काठमाडौं, फाल्गुन ३० - नेता बाबुराम भट्टराईले पार्टी पुनर्संरचनाको चेतावनी दिइरहेकै बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको भने नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यसँग दूरी नजिकिएको छ । केही समययता दाहाल र भट्टराईबीच आशंका बढ्दो छ भने दाहाल र वैद्यबीच विश्वास बढ्दो छ ।
दाहाल-वैद्य बिहीबार सत्य निरूपण मेलमिलाप आयोग गठन नगरुन्जेल युद्धकालीन मुद्दामा कारबाही नगर्न सरकारलाई दबाब दिने र स्थानीय निर्वाचन तयारीको विरोध गर्ने मुद्दामा 'कार्यगत' एकता गर्न पुगेका छन् । उनीहरूबीच पार्टी एकताका लागि धेरै चरणमा छलफल पनि भइसकेको छ । नेताद्वय भट्टराई र नारायणकाजी श्रेष्ठले दाहालको कार्यशैलीको विरोध गरेपछि उनले वैद्यसँग कुराकानी बढाएका थिए । उनको उद्देश्य वैद्यलाई नजिक ल्याएर भट्टराई र श्रेष्ठलाई तर्साउने पनि हो । भट्टराई-श्रेष्ठ एकातिर हुँदा आफूलाई संकट पर्ने उनले देखेका छन् ।
माओवादीले लिएको 'जनयुद्धको जगमा जनविद्रोह' गर्ने कार्यदिशा अपेक्षित रूपमा अघि बढ्न नसकेपछि वैद्य-दाहालसँग एकता छलफल चलाउन तयार भएका हुन् । बाहिरी रूपमा वैद्यले एमाओवादीको हेटौंडा महाधिवेशनको 'पुँजीवादी जनवादी क्रान्ति' को कार्यदिशा सच्याए मात्र एकता हुनसक्ने बताए पनि पार्टी विभाजनले आफूलाई पनि फाइदा नभएको निष्कर्ष निकालेका छन् । संविधानसभा निर्वाचनमा नमीठो पराजय भोगेपछि त दाहाल 'जसरी पनि पार्टी एकताको पक्षमा' उभिएका हुन् । उनले भट्टराई र श्रेष्ठलाई खबरै नगरी धेरै पटक वैद्यसँग वार्ता गरेका छन् । वार्तामा उनले आफू पनि 'जनविद्रोह' कै पक्षमा रहेको बताएको स्रोतको भनाइ छ । वैद्यसँगको छलफलमा बुधाबार मात्र भट्टराई सहभागी भएका थिए ।
दाहाल पक्षले भट्टराईले कम्युनिस्ट रूप बिनाको पार्टी बनाउन खोजेको भन्दै आलोचना गर्न थालेको छ । उक्त पक्षले माओवादीसँगको एकता विरोधीका रूपमा भट्टराईलाई ठानेको छ ।
भट्टराईलाई 'माइनस' गरेर भए पनि दाहाल वैद्यसँग एकता गर्न चाहन्छन् । 'बाबुरामजीले कम्युनिस्ट रूप बिनाको पार्टी बनाउन खोज्नुभएको छ, उहाँले अध्यक्षसँग निरन्तर निहुँ खोज्नुको कारण पनि त्यही हो,' दाहाल निकट एक नेताले भने । दाहाल पक्ष भट्टराईको मागलाई बेवास्ता गरेर भए पनि वैद्यसँग सहकार्य बढाउने रणनीतिमा छ । त्यसलाई प्रतिवाद गर्न भट्टराईले आफ्नो पक्षको भेला जारी राखेका छन् । अर्कातिर दाहाल पक्षले माओवादीसँग एकताको आधार बन्दै गएको दाबी गरेको छ । 'पार्टी एकताका लागि सघन कुराकानी भइरहेको छ, यो कार्यगत एकताले आधार बन्नेछ,' दाहाल निकट नेता वर्षमान पुनले कान्तिपुरसँग भने, 'पार्टी एकताको स्पष्ट संकेत देखिएको छ ।'
वैद्यसँग बिहीबार संयुक्त विज्ञप्ति जारी गर्नुअघि दाहालले भट्टराईसहित केन्द्रीय पदाधिकारीबाट सहमति जुटाएका थिए । भट्टराई निकट स्रोतले भने एकताको कुरा प्रचारात्मक भएको बताएको छ । 'सडक आन्दोलनका लागि एकता हुनु उचित छ, तर पार्टी एकताको कुरा प्रचार मात्र हो,' सोतले भन्यो । गत वर्ष माघमा हेटौंडा महाधिवेशनले 'पुँजीवादी क्रान्ति' को कार्यदिशा सच्याएर आवश्यक परे जनविद्रोहमा जानेे भन्नु माओवादी संविधान निर्माणको प्रक्रियामा सहभागी हुने अवस्थामा एकता हुन सक्ने आधार हो । कार्यदिशालाई 'आवश्यक संशोधन गर्ने' विषयमा दुई पक्षबीच एकताका लागि छलफल भइरहेको छ । 'माओवादी संविधान निर्माणको प्रक्रियामा सहभागी हुने र हामी -एमाओवादी)
आवश्यक पर्दा सडकमा जाने अवस्थामा हाल कार्यगत एकता भएको हो,' नेता पुनले भने ।
सीमावर्ती जिल्लाका सभासदको चीन भ्रमणका क्रममा दुई माओवादी मिल्न सुझाव दिएको नेता अग्नि सापकोटाले बताए । 'चिनियाँ पक्षले पार्टी एकता गर्न सुझाव दिएको छ, उहाँहरूले निरन्तर यस खालको सुझाव दिँदै आउनुभएको छ,' उनले सुनाए । दाहालसँग वैद्य नजिएकामा माओवादी सचिव नेत्रविक्रम चन्द सन्तुष्ट छैनन् । उनले वैद्यविरुद्ध पार्टीभित्र छुट्ट्रै राजनीतिक प्रतिवेदन ल्याउने तयारी गरेका छन् । उनले विद्रोहको तयारी गर्नुपर्नेमा जोड दिँदै एमाओवादीसँग एकता गर्नुको अर्थ संसदीय बाटामा अघि बढ्नु भएको बताउन थालेका छन् । बिहीबार माओवादी केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनमा चन्दलगायत उनी निकट कोही पनि नेता सहभागी भएनन् ।
दुई माओवादीबीच 'कार्यगत एकता'
पार्टी विभाजनको एक वर्ष ८ महिनापछि एमाओवादी र नेकपा-माओवादीबीच 'कार्यगत एकता' भएको छ । दुई माओवादीका नेताहरूले यसलाई पार्टी एकताको आधार बन्दै गएको भनेका छन् । माओवादी २०६९ असारमा विभाजन भएको थियो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादी अध्यक्ष मोहन वैद्यले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी 'कार्यगत एकता' घोषणा गरेका हुन् । विज्ञप्ति जारी गरेलगत्तै माओवादी अध्यक्ष वैद्यले कार्यगत एकता हुनु सकारात्मक भएको धारणा राखे । उनले राजनीतिक कार्यदिशा नमिलेकाले तत्काल पार्टी एकता नभए पनि असम्भव नरहेको बताए । 'हाल दुई पार्टीबीच कार्यगत एकता भएको छ,' उनले भने, 'यसलाई सकारात्मक रूपमा बुझ्नुपर्छ ।'
दाहाल र वैद्यले सशस्त्र युद्धकालका घटना ब्युँताएर नेता-कार्यकर्ताको गिरफ्तारीको विरोध गर्ने र स्थानीय निकायको निर्वाचन गर्न नदिनेबारे संयुक्त हस्ताक्षर गरेका हुन् ।
निर्वाचनमा नराम्ररी हार्नुको मुख्य कारण पार्टी विभाजन भएको ठान्दै दुई दलबीच एकताको पहल भएको थियो । त्यस्तै, यो संविधानसभाबाट आफूअनुकूल संविधान बन्न नसक्ने एमाओवादीले महसुस गरेकोे छ । त्यही भएर उसले कांग्रेस-एमालेमाथि दबाब सिर्जना गर्न 'कार्यगत एकता' चाहेको हो । दाहाल-वैद्यको विज्ञप्तिमा संविधान निर्माण नभएसम्म स्थानीय निकायको निर्वाचन नगर्न माग राखिएको छ । 'संघीय संविधान नबन्दै संक्रमणकालीन संरचनाबारे निर्वाचन गर्न खोज्नुले नयाँ संघीय संविधान निर्माण नगरिने त होइन, भन्ने
गम्भीर प्रश्न उठ्नुका साथै अन्तरिम संविधान २०६३ को धारा १३८ विपरीत हुने भएकाले नयाँ संविधान निर्माणलाई प्राथमिकता दिई सो नहुँदासम्म स्थानीय निर्वाचन नगरियोस् भनी हामी सम्बद्ध पक्षसँग जोडदार आग्रह गर्दछौं,' विज्ञप्तिमा उल्लेख छ, 'उपरोक्त विषयलाई गम्भीरतापूर्वक लिई समग्रमा सम्बोधन नगरिएमा संयुक्त जनआन्दोलन जानुपर्ने स्थिति पैदा हुन सक्छ ।'
पत्रकार सम्मेलनमा वैद्यले सरकारले द्वन्द्वकालका मुद्दामा एमाओवादी नेता बालकृष्ण ढुंगेललगायत अन्य कार्यकर्तालाई पक्राउ गर्न लागेको भन्दै विरोध गरेका थिए । 'जनयुद्धकालीन मुद्दा ब्युँताउन लागिएकाले दुई माओवादी एक भएका हौं,' उनले भने ।
माओवादीद्वारा आन्दोलन समिति
काठमाडौं- नेकपा-माओवादीले संविधान निर्माणका अन्तर्वस्तु, राष्ट्रिय स्वाधीनता र जनजीविका लगायतका मुद्दालाई लिएर आन्दोलन गर्न संयुक्त जनसमिति गठन गरेको छ । समितिमा मजदुर, किसान, महिला, आदिवासी/जनजाति, पिछडिएका क्षेत्र, मधेसी, मुस्लिम लगायतलाई समेटी समावेशी बनाइएको पार्टीद्वारा बिहीबार जारी विज्ञप्तिमा छ ।
अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले संयुक्त जारी गरेको विज्ञप्तिमा सर्वपक्षीय राजनीतिक सभा गठन, जनयुद्धकालीन र बहिष्कार आन्दोलनका बेला लगाइएका झूटा मुद्दा खारेजी लगायतमा जनसमितिमार्फत कार्यक्रम गर्ने उल्लेख छ । ३३ दलसहित सहमत हुने घटकहरूसँग मिलेर आन्दोलनमा जाने पार्टीले जनाएको छ ।
यसको समन्वयका लागि माओवादीले सचिव देव गुरुङको संयोजकत्वमा १ सय ३३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरेको छ । पार्टी कार्यालयमा बिहीवार वैद्यले संविधानसभाबाट नयाँ संविधान नबन्ने ठोकुवा गरे ।
http://www.ekantipur.com
