केपी ओली र माधव नेपालमा को गतिलो ?

१२ बैशाख, काठमाडौं । नेकपा एमालेमा अध्यक्ष पदका लागि केपी ओली र माधव नेपालको नाम चर्चामा छ । उमेरको हिसाबले ६२ वर्षीय केपी शर्मा ओली दुई वर्षले माधव नेपालका दाजु हुन् । उमेरले ओलीभन्दा कान्छा माधव नेपाल र ओलीवीच स्वास्थ्यको विषयलाई समेत यतिबेला योग्यता र अयोग्यताको विषय बनाइएको छ ।
निश्पक्ष भावले दुबै नेताको योग्यता र कमजोरीका विषयमा विश्लेषण गर्दा दुई नेताका केही सबल पक्ष र केही कमजोर पक्षहरु देखिएका छन् । अनलाइनखबरले दुबै पक्षका नेताहरुसँग गरेको कुराकानीका आधारमा माधव नेपाल र केपी ओलीका कमजोर पक्ष, सबल पक्ष र टीमहरु यस्ता छन्-

केपी ओलीका सकारात्मक पक्ष

केपी ओली पक्षका नेताहरुको विश्लेषणअनुसार ओलीको सबैभन्दा सबल पक्ष भनेको उनी आफ्नो विचारमा स्पष्ट अडान र संगति भएका नेता हुन् । विशेषगरी एमाओवादीको उग्रवादविरुद्ध केपी ओलीले राखेको अडानले नै अहिलेसम्म एमालेलाई जोगाएको हो ।
ओलीको दोस्रो सकारात्मक पक्ष भनेको जस्तै बिरामी हुँदा पनि खट्ने विशेषता हो । आफ्ना दुबै मृगौला काम नलाग्ने भएर प्रत्यारोपण गर्दा पनि राष्ट्रिय राजनीतिमा उनको उपस्थिति यथावत रह्यो । सरकार सञ्चालनम होस् या चुनावमा फिल्डमा खट्ने सवालमा होस्, ओलीलाई स्वाथ्य नरोकेको ओली पक्षका नेताहरुको विश्लेषण छ ।

केपी ओलीको तेस्रो सकारात्मक विशेषता भनेको उनी कार्यकर्ताहरुको असाध्यै ख्याल गर्छन् र संरक्षण गर्छन् । दुःख पाएर केपीको घरमा जाने कार्यकर्ताले भोको पेट वा रित्तो गोजी लिएर र्फकनुपर्दैन । ओली कार्यकर्ताका व्यवहारिक समस्यालाई ख्याल गर्छन्, आर्थिक सहायतासमेत गर्छन् ।
ओलीको चौथो विशेषता उनी आफ्नो गुटकालाई मात्रै काखा र अर्काको गुटकालाई पाखा गर्ने संकीर्ण नेता होइनन् । ओली पक्षका नेताको दाबी अनुसार टंक कार्की आफ्नो गुटमा नभए पनि केपी ओलीले नै राजदूत बनाइदिएका हुन् । गुणलक्ष्मीलाई म्यानमारको राजदूत पनि ओलीले बनाएका हुन् । त्यसैले ओली आफ्नो गुट बाहिरका विपक्षी कार्यकर्तालाई पनि संरक्षण गर्छन् ।

एमालेभित्र लोकतान्त्रीकरणको प्रस्ताव ल्याउने विचारक समेत केपी ओली नै रहेको दाबी उनका समर्थकहरुको हो । पार्टी बहुपदीयमा जानु हुँदैन भनेर माधव नेपाल पक्षले विरोध गरिरहेका बेला केपी ओलीकै कारण पार्टी बुहपदीयमा गएको हुनाले केपी विचारमा पनि अरुभन्दा अगाडि रहेको दाबी उनीहरुको छ ।

ओलीका नकारात्मक पक्ष

केपी ओलीका नकारात्मक पक्षहरु के-के होलान् ? यसबारे उनको गुटका नेताहरु ओलीका नकारात्मक पक्ष खासै देख्दैनन् । तर, माधव नेपालपक्षसँग सोध्दा ओलीका नकारात्मक पक्षहरु धेरै छन् ।
आलोचकहरुका अनुसार केपी ओलीको स्वास्थ्यस्थिति उनको सबैभन्दा कमजोर पक्ष हो । दोस्रो, ०६२/०६३ को जनआन्दोलनका बेला पार्टीलाई गणतन्त्रमा लैजाने क्रममा केपी ओली र उनका पक्षका नेताहरुले चर्को विरोध गरेका थिए । ओलीको तेस्रो कमजोरीका रुपमा उनी आफ्नो गुट बाहेकलाई सिध्याउन चाहने नेता रहेको बताइन्छ । त्यस्तै डनवादलाई संरक्षण गर्ने, आर्थिक रुपमा अपारदर्शी, गुटबन्दी गर्ने र विरोधीमाथि छुद्र टिप्पणी गर्ने छुचो नेताका रुपमा उनको आलोचना हुने गरेको छ ।
केपी ओलीको टिम
वर्तमान केन्द्रीय समितिमा माधव नेपाल भन्दा केपी ओलीको टीम बलियो देखिएको छ । उपाध्यक्षद्वय वामदेव गौतम, विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल र सचिवद्वय विष्णु पौडेल र शंकर पोखरेल केपी समूहमा छन् । त्यसैगरी केन्द्रीय नेताहरु प्रदीप ज्ञवाली, प्रदीप नेपाल, राजेन्द्र गौतम, गुरु बराल, मुकुन्द न्यौपाने, छविलाल विश्वकर्मा, खगराज अधिकारी, धर्मनाग साह, कृष्णगोपाल श्रेष्ठ, किरण गुरुङ, लगायतका नेताहरु ओली पक्षमा छन् ।

माधव नेपालका सकारात्मक पक्ष

माधवकुमार नेपाललाई अध्यक्षका रुपमा अघि सारेको समूहले उनलाई ‘परिर्वतनकारी धारको नेतृत्व’ गर्ने नेताका रुपमा प्रस्तुत गरेका छन् ।
मदन भण्डारीको कार्यकालमा भ्रुण रोपिएको जनताको बहुदलीय जनवादसमेत नेपालकै नेतृत्वमा नीति तथा कार्यक्रम एवं मार्गदर्शक सिद्धान्तका रुपमा विकास भएको उक्त समूहको दावी छ ।
‘एमालेले गणतन्त्रको प्रस्ताव पारित गर्दा केपी ओलीसँगै विष्णु पौडेलसहितका नेताहरु विपक्षमा थिए’ नेपाल निकटका एक नेताले अनलाइनखबरसँग भने- ‘माधव नेपालले कांग्रेसको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा गणतन्त्रमा आउन अपील गरेका हुन् । त्यसैले नेपाल एमालेको परिर्वतनकारी नेता हुन् ।’

ज्ञानेन्द्रको राज्यरोहणमा दाम राखेको ढोकेको विषयमा माधव नेपालको कुनै कमजोरी नभएको उनका समर्थकहरुको तर्क छ । ‘त्यस्तो गनुपर्छ भन्ने पहिल्यै थाहा थिएन, त्यहाँ सबैले दाम चढाएपछि बाध्यताबस त्यसो गर्नुपरेको हो,’नेपाल पक्षका एक नेताले अनलाइनखबरसँग भने-’त्यही घटनालाई लिएर जतिसुकै आलोचना गरे पनि पार्टीभित्र गणतन्त्रमा जानुपर्छ भनेर सबैभन्दा पहिले आवाज उठाउने अग्रगामी नेता माधव नेपाल नै हुन् ।’

पार्टीका १५ वर्षसम्म महासचिव रहिसकेका नेपाल निकै खट्न सक्ने र समयको ख्याल गर्ने नेताका रुपमा समेत चिनिन्छन् । एमालेका पूर्वनेता राधाकृण मैनालीका अनुसार नेपाल महासचिव हुँदा एक दिनमा ३०/३५ बटा मिटिङ भ्याउथे । उसो त नेपालको सक्रियता अहिले पनि कम छैन । उनले सबै पक्षलाई समेटेर लैजान सक्ने नेपाल पक्षको दावी छ ।

नेपाल प्रधानमन्त्री भएकै समयमा एमाओवादी अध्यक्ष प्रचण्डको ‘डाउनफल’ सुरु भएको उनी निकटवर्तीहरुको दाबी छ । ‘माओवादीको ६ दिने शहरी विद्रोह असफल बनाएको कसले हो ?’ एक नेताले अनलाइनखबरसँग भने-’माधव सरकारले डटेर सामना गरेपछि कथित शहरी विद्रोह असफल भयो र प्रचण्डको ‘डाउनफल’ समेत त्यहीँबाट सुरु भएको हो ।’

माधव नेपालका कमजोरी

नेपाल एमालेका लागि किनसमक्ष भन्ने प्रश्न गर्दा उनी निकटवर्तीहरु नेपाल प्रधानमन्त्री हुँदा नै काठमाडौं-निजगढ फास्ट ट्राकको जिम्मा सेनालाई दिइएको, नेपालीको लगानीमा तामाकोशी जलविद्युत आयोजना बनेको बताउँछन् । प्रधानमन्त्री हुँदा भारतले विप्पासहितको सम्झौता गर्न दिएको दबाव नेपालले अस्वीकार गरेको भन्दै उनको समूहले राष्ट्रियताको मामिलामा पनि नेपाल निकै प्रष्ट भएको बताउने गरेका छन् ।
एमालेकै एकथरि नेताहरु माधव निकै खट्न सक्ने भए पनि कुशल संगठन नभएको बताउँछन् । अध्यक्ष झलनाथ खनालको समर्थन भएकाले नेपाल पक्षले महाधिवेशनमा आफूहरु जित्ने दाबी गरेका छन् ।
राजनीतिकमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भनेर माधव नेपालले राजादेखि पञ्चसम्म सबैसित हात मिलाएको आरोप विपक्षी नेताहरुको छ ।

लक्ष्मणसिंह खड्कासँगै प्रधानमन्त्रीका लागि ज्ञानेन्द्रसँग विन्तीपत्र हालेको, राजालाई दाम राखेर ढोगेका कारण पार्टी आलोचनाको शिकार भएको, लामो समय पार्टीको नेतृत्व सम्हाल्दा पार्टीलाई ३३ सीटम खुम्च्याएर सानो बनाएको, आफ्ना नातागोता र गुटका मन्छेलाई काखा र अरुलाई पाखा पार्ने गरेको, कार्यकर्तालाई सहयोग नगर्ने र लोभलालच गर्ने गरेको जस्तो अराोपहरु माधव नेपालमाथि लाग्ने गरेका छन् ।
आठौं महाधिवेशनमा ओलीलाई सघाएर संसदीय दलको चुनावमा झलनाथलाई सहयोग गरेको अनि आफ्नो व्यीक्तगत स्वार्थका लागि गुट बदल्ने गरेको र आफ्नो समूहमा कसैलाई पनि राख्न नसकेको आरोप पनि नेपालमाथि लागेको छ ।

माधव नेपालको टिम

युवा नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराईसहितका नेताहरुले छुट्टै भेला गरेर औपचारिक रुपमा नेपाललाई अध्यक्षको उम्मेदवार बनाएका छन् ।

नेपाल समूहले अहिले नै पदीय बाँडफाँड गरेका छैनन् । तर, नेताहरुबीच नेपाल टिमको महासचिवमा सुरेन्द्र पाण्डेको चर्चा छ । उनी अध्यक्ष झलनाथ खनालका मुख्य मान्छे हुन् भने नातामा साढुभाइ समेत हुन् । यद्यपि नेपाल निटकटका नेता भीम रावल पनि महासचिवका आकांक्षी हुन् ।
रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र गोकर्ण विष्ट पनि माधव नेपालको पदाधिकारी टीममै पर्नेछन् । पुराना नेताहरु अमृतकुमार बोहोरा, सिद्धिलाल सिंह र भरतमोहन अधिकारी पनि मधव नेपालको समूहमा छन् । युवा नेताहरुमा प्रकाश ज्वाला, महेन्द्र पाण्डे, घनश्याम भुसाल, गंगालाल तुलाधर, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्र पाण्डे, ठाकुर गैरे, रामकुमारी झाँक्रीसहितका नेताहरु पनि माधव नेपाल समूहमै छन् ।
माधव नेपालको कोर टिममा रहेका एक नेताले भूगोलमा नेपालको बहुमत भएको दाबी गरेका । तर, जनवर्गीय संगठनमा नेपालभन्दा ओली पक्ष केही बढी रहेको उनीहरुले स्वीकार गरेका छन् । ‘ओलीले सहज जित्छन् भन्ने बाहिर चर्चा गरिएको छ । तर, अवस्था त्यस्तो होइन’ नेपाल पक्षका एक नेताले भने-’प्रतिस्पर्धामा हामी जित्छौं भन्ने क्यालकुलेशन गरेरै हामी अघि बढेका छौं ।’
- onlinekhabar

,

news and entertainment