नेपालीको प्रतिव्यक्ति आम्दानी बढ्यो

केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०७०/७१ मा ५.१५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ । विभागले नियमितरुपमा तयार गरिने कुल गार्हस्थ उत्पादन, उपभोग, बचत, लगानीजस्ता राष्ट्रिय लेखासम्बन्धी समष्टिगत आर्थिक सूचकहरु तथा त्यससँग सम्बन्धित तथ्याङ्क प्रस्तुत गर्दै आएको छ ।

औद्योगिक वर्गीकरणअनुसार चालु आवमा कुल गार्हस्थ उत्पादनमा कृषि तथा वन क्षेत्रको सबैभन्दा बढी हिस्सा रहेको छ । यस क्षेत्रको गार्हस्थ उत्पादनमा ३२.६१ प्रतिशत योगदान रहने अनुमान छ ।

विभागले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजनागरी बृहत् औद्योगिक समूहअनुसार कुल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्रमा गत वर्ष २०६९/७० को तुलनामा चालु आवमा ४.७१ प्रतिशत हुने अनुमान गरिएको जानकारी दिइयो ।
Dolor 2
विभागका महानिर्देशक विकास विष्टले द्वितीय (निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानी) क्षेत्रमा गत आवको तुलनामा २.६९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो । तृतीय (सेवा) क्षेत्रमा गत आवको तुलनामा चालु आवमा गार्हस्थ उत्पादनको वृद्धिदर ६.१३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

त्यसैगरी, औद्योगिक वर्गीकरणअनुसार कुल गार्हस्थ उत्पादनमा चालु आवमा कृषि क्षेत्रको वृद्धि ४.७२ प्रतिशत रहने अनुमान छ भने गैरकृषि क्षेत्रको ५.३४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । विभागका अनुसार चालु आवमा कुल गार्हस्थ उत्पादनको ९१.०८ प्रतिशत अर्थात रु १७ खर्ब ५६ अर्ब ४८ करोड बराबर कुल उपभोग हुने अनुमान गरिएको छ ।

त्यसैगरी, चालु आवमा प्रचलित मूल्यमा कुल पुँजी निर्माण रु सात खर्ब १५ अर्ब छ करोड हुने र यसमध्ये रु चार खर्ब ४६ अर्ब १३ करोड कुल स्थिर पूँजी रहने अनुमान गरिएको छ । वस्तु तथा सेवाको खूद निर्यात चालु आवमा रु पाँच खर्ब ४३ अर्ब दुई करोड बजेट घाटा रहने अनुमान गरिएको छ । सो अवधिमा प्रचलित मूल्यमा चालु आवमा कुल राष्ट्रिय आय रु १९ खर्ब ६६ अर्ब ७४ करोड रहने अनुमान गरिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय प्रचलित मूल्यमा रु ७१ हजार ३०५ (७१७ अमेरिकी डलर) पुगेको प्रारम्भिक अनुमान छ । गत आवमा सो आय रु ६२ हजार ६७७ (७१३ अमेरिकी डलर) थियो ।

विभागले यसै आर्थिक वर्षदेखि प्रथम तथा द्वितीय त्रैमासिकको कुल गार्हस्थ उत्पादनको तथ्याङ्क सार्वजनिक गरेको छ । यसअनुसार मौसमी प्रभाव समायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आवको चौथो त्रैमासिकको तुलनामा चालु आवको प्रथम त्रैमासिकमा ३.१३ प्रतिशतले र प्रथम त्रैमासिकको तुलनामा दास्रो त्रैमासिकमा ०.०९ प्रतिशतले झिनो वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।

त्यसैगरी, मौसमी प्रभाव असमायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आवको प्रथम त्रैमासिकको तुलनामा चालु आवको वृद्धि ३.९० प्रतिशत र अघिल्लो आवको दोस्रो त्रैमासिकको तुलनामा चालु आवको सोही अवधिमा ६.२३ प्रतिशतको वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । रासस

,

news and entertainment