हिन्दु राष्ट्र कायम गर्न धर्मयुद्धको चेतावनी, असार ९ र १० गते उपत्यका बन्दको घोषणा

काठमाडौं, ५ असार । वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समितिले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र कायम नगरे छिट्टै धर्मयुद्ध गर्ने चेतावनी दिएको छ ।
धर्म निरपेक्षताको नाममा राष्ट्रिय जनावर गौमातालाई लक्ष्मीपूजाकै दिन काटिन थालेकोमा सहन नसकी विरोधको रुपमा गत बैशाख ८ गतेदेखि विभिन्न ७५ वटा हिन्दू धर्मालम्बी संस्थाले रिले अनशन बस्दा पनि सरकारबाट कुनै सुनुवाई नभएपछि आफूहरु बाध्य भई आन्दोलन गर्न लागेको वैदिक सनातन हिन्दुराष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समितिले बताएको छ । संस्थागत संयुक्त संघर्ष समितिले सरकारलाई दबाब स्वरुप आगामी असार ९ र १० गते बृहत्त उपत्यका बन्दको घोषणा पनि गरेको छ ।
रिपोर्टर्स क्लब नेपालमा बिहिबार पत्रकार सम्मेलन गर्दै वैदिक सनातन हिन्दुराष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समितिले अनादिकालदेखि विश्वसामु परिचित एक मात्र हिन्दुराष्ट्र नेपाललाई कथित् केही नेताहरुले नै डलरको प्रलोभनमा परि धर्म निरपेक्ष राष्ट्र बनाएको बताएको छ । उसले अब बन्ने संविधानमा वैदिक सनातन हिन्दुराष्ट्र नेपाल उल्लेख गर्नुपर्ने धाराणा राखेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संयुक्त संघर्ष समितिका उपाध्यक्ष रामेश्वर थापाले नेपाललाई २०६३ साल जेठ ०४ गते धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएकोमा राज्यलाई पटकपटक हिन्दु राष्ट्र नै कायम गरियोस् भनी मेचि–महाकाली कलश यात्रा, खुल्लामञ्च टुडिखेलमा भागवत पूराण र धार्मिक ज्ञान महायज्ञ लगाउने जस्ता शान्तिपूर्ण रुपमा आफ्ना माँगहरु राख्दा समेत बेवास्ता गरिएको बताए ।
वैदिक सनातन हिन्दुराष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समितिका प्रवक्ता शमसेरबहादुर कार्कीले अनशन बस्दा, शान्तिपूर्ण ढंगले आफ्ना मागहरुको सम्वोधन गर्न पटक–पटक ध्यानाकार्षण गराउँदा समेत राज्यले उदासिनता देखाएको भन्दै यस्तै उपेक्षा गरिरहे छिट्टै धर्मयुद्ध गर्ने चेतावनी दिए । कार्कीले अब हुने धार्मिक युद्ध माओवादीको युद्ध भन्दा ठूलो युद्ध हुने उद्घोष समेत गरे ।
कार्यक्रममा महिला धार्मिक नेत्री एवम् संयुक्त संघर्ष समितिकी भण्डारण व्यवस्थापक राधादेवी रिमालले पनि पटक–पटक आफूहरुले धर्यताका साथ मागहरु राज्य समक्ष राख्दै आउँदा राज्यले जहिले पनि उपेक्षा गरेको भन्दै छिट्टै युद्ध भुमिमा होमिइसकेको बताइन् । उनले भनिन्– ‘यो महान कार्यमा सवै हिन्दुहरुलाई सहभागी हुन आह्वान समेत गर्दछु ।’
वैदिक सनातन हिन्दुराष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समितिले श्री श्री नीवासाचार्यको संयोजकत्वमा १२३ सदस्यीय कार्यसमिति विस्तार गरेको छ ।
dainiknepal

,

news and entertainment