रमेश खरेलले तनावका कारण विदा लिए
२० जेठ, काठमाण्डौ ।
अघोषित निलम्बनमा परेका काठमाण्डौका प्रहरी प्रमुख रमेश खरेलले तनावका कारण विदा लिएका छन् । प्रहरी प्रधान कार्यालयको छानविनमा रहेका खरेलले बुधबार देखि एक महिने विदामा बस्न लागेको बताइएको छ ।
सोमबार मात्र निर्वाचन आयोगले एसएसपी खरेललाई पुरानै जिम्मेवारीमा फर्काउन गृहमन्त्रालयलाई निर्देशनात्मक पत्र पठाएको थियो । तर रमेश खरेलले भने एक महिने विदामा बस्ने निर्णय गरेका छन् ।
प्रहरी अधिकृतहरु बढुवा पाउन पैसाको सुटकेस बोकेर शक्तिकेन्द्र धाएको भन्ने अभिब्यक्ति दिएपछि प्रहरी प्रधान कार्यालयले खरेललाई सोधपुछका लागि भन्दै मुख्यालयमा तानेको थियो ।
उनलाई विदामा बस्न मुख्लयाले नै दवाव दिएको अनुमान गरिएको छ । खरेलको पक्षमा जनमर्थन रहेको भएपनि उच्च प्रहरी अधिकारी र गृहमन्त्रालय भने उनीसँग रुष्ट छ ।
खरेलले विवादास्पद अभिब्यक्ति दिएर अनुशासन उल्लङ्घन गरेको भन्दै गृहमन्त्रालयले दवाव दिएपछि प्रहरी प्रधान कार्यालयले खरेलवारे छानविन गर्न छानविन समिति नै गठन गरेको थियो ।
डिआाइजी विज्ञान शर्माको संयोजकत्वमा गठित समितिले खरेलसँग उक्त अभिब्यक्तिका विषयमा बयान लिइसकेको बताइएको छ । यद्यपी खरेललाई काज सरुवा गर्ने गृहमन्त्रालयको प्रयास निर्वाचन आयोगका कारण रोकिएपछि प्रहरी प्रधान कार्यालयले उनलाई के कारवाही गर्ने भन्ने विषयमा टुङ्गो लगाएको छैन ।
खरेललाई कारवाही गर्न लागिएको विरोधमा नागरिक समाज र राजनीतिकस्तरमै समेत विरोध भैरहेको छ ।
सत्य कुरा उजागर गर्दा इमान्दार अफिसर रमेश खरेललाई कारवाही गर्न खोजिएको भन्दै गृहमन्त्री बामदेव गौतमको चौतर्फी आलोचना भैरहेको छ ।
खरेलको पक्षमा रहेकाहरुले फेसबुकमा खरेल बचाउ अभियान समेत चलाइरहेका छन् ।
