एसएसपी खरेललाई के होला सजाय ?...

काठमाडौं–एसएसपी रमेश खरेलले सार्वजनिक कार्यक्रममा दिएको अभिब्यक्तिको अनुसन्धानका लागी गठित छानवीन समितिले उनले विना प्रमाण सार्वजनिक कार्यक्रममा संगठनका सदस्यहरुमाथी गम्भिर आरोप लगाएको भन्दै कारवाहीको सिफारिस सहितको प्रतिवेदन बुझाएको छ।

डिआइजी विज्ञानराज शर्माको संयोजकत्वमा बनेको ३ सदस्यिय समितिले मंगलवार बेलुका प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याललाई बुझाएको प्रतिवेदनमा खरेलको अभिब्यक्ति प्रहरी नियमावली अनुसार कारवाहीको दायरामा आउने सिफारिस गरेको स्रोतले जानकारी दियो।

एक कार्यक्रममा खरेलले एआइजीको बढुवामा पर्न डिआइजीहरु ब्रिफकेस बोकेर शक्तिकेन्द्र धाइरहेको आरोप लगाएका थिए। उनको अभिब्यक्ति विवादमा तानिएपछि प्रहरी प्रधान कार्यालयले त्यसको छानवीन गर्न नौ दिन अगाडि समिति गठन गरेको थियो।

समितिले कार्यक्रममा खरेलले बोलेको अडियो र भिडियो तथा सोबारे खरेलसँग लिएको जानकारीलाई आधार बनाउँदै सार्वजनिक भएझै उनले कार्यक्रममा बोलेको र उनको अभिब्यक्ति संगठनको अनुशासन बाहिर रहेको प्रतिवेदनले ठहर गरेको छ।

स्रोतका अनुसार समितिले हुनुपर्ने कारवाहीको व्यहोरानै तोकेको भने छैन। प्रतिवेदन आए लगत्तै खरेल १ महिना विदा लिएर बसेका छन्। उनको विदा सकिएपछि प्रतिवेदनले औंल्याएको विषयमा उनीसँग प्रष्टीकरण लिएर उनको प्रष्टिकरणको आधारमा खरेलमाथी हुने कारवाहीको टुंगो लगाउने मुडमा प्रधान कार्यालय देखिएको छ।

सही कुरा तर गलत ठाउँ-:

खरेलले डिआइजी बढुवाको विषयमा जे बोलेका हुन् त्यो सत्य नै भएकोमा संगठनभित्रका अधिकांश उच्च अधिकारीहरु सहमत देखिन्छन्। खरेलको अभिब्यक्ति विवादमा तानिएपछि भएको बढुवा सिफारिस समितिको निर्णयले समेत खरेलको अभिब्यक्तिलाई बल दियो नै। तर, उनले जुन स्थानमा जुन शैलीले बोले त्यो भने गलत भएको अधिकांशको निष्कर्ष देखियो।
'उनले जे बोले त्यो आधारहिन भने हैन, तर उनले सार्वजनिक स्थानमा विना प्रमाण बोलेकाले अनुशासन उलंघन भने भएको हो' एक उच्च प्रहरी अधिकारीको विश्लेशण थियो'उनको मनसाय,आशय र कार्यशैली संगठनमैत्री रहेकाले यही एउटा कमजोरी समातेर आत्मबलनै गिराउने निर्णय हुनुहुन्न।'

के होला सजाय?

प्रहरी नियमावली अनुसार प्रहरी कर्मचारीलाई सजायको आदेश दिनुअघि कारबाही गर्न लागिएको व्यहोरा उल्लेख गरी हुन सक्ने सजाय समेत खुलाई लिखित सूचना दिई निजलाई आफ्नो सफाइ पेश गर्ने मौका दिनु पर्नेछ। त्यस्तो लिखित सूचनामा निजउपर लगाइएको आरोप स्पष्ट रूपले किटिएको हुनु पर्ने र प्रत्येक आरोप कुन तथ्य र कारणमा आधारित छ सो समेत खुलाउनु पर्ने प्रावधान छ।
आरोप लागेको प्रहरी कर्मचारीले त्यस्तो सूचनामा उल्लिखित म्यादभित्र आफ्नो सफाइ र प्रस्तावित सजायको सम्बन्धमा लिखित स्पष्टीकरण पेश गर्नु पर्ने नियमावलीमा उल्लेख छ।
सोही प्रावधान अनुसार अब प्रहरी महानिरिक्षकले खरेल सम्बन्धी प्रतिवेदन प्रहरीले कानुन शाखामा पठाउनेछन्। प्रष्टिकरण लिने कारवाहीको सिफारिस गर्ने लगायतको प्रकृया कानुन शाखाले अगाडि बढाउने छ।
छानवीन समितिले उनलाई प्रहरी नियमावली विरुद्ध सजायको सिफारिस गरेको छ। प्रहरी नियमावली–२०७१ मा रहेको सजायबारे यस्तो प्रावधान छ।
(क) सामान्य सजाय

(१) शारीरिक परिश्रम हुने सजाय गर्ने वा नियन्त्रणमा राख्ने,
(२) नसिहत दिने,
(३) चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्ने,
(४) बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्ने,
(५) बढीमा पाँच तलब वृद्धि रोक्का गर्ने,
(६) खाइपाई आएको बढीमा पाँच तलबवृद्धि घटुवा गर्ने,
(७) हालको पदको जेष्ठतासहित खाइपाई आएकोे शुरु स्केलमा घटुवा गर्ने वा तल्लो पदमा घटुवा
गर्ने।
(ख) विशेष सजाय
(१) भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट
हटाउने,
(२) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट
बर्खास्त गर्ने।
खरेलमाथी जुन विषय केन्द्रीत अनुसन्धान भएको सोको आधारमा उनमिाथी सामान्य सजायका प्रावधानहरुनै आर्कशित हुने देखिन्छ। संगठनका केही उच्च अधिकारीहरुले विष्लेशण गरेझै कारवाही प्रकृया केही खुकुलो भएमा उनलाई सचेतसम्म गराउन सक्छ। उनलाई तह लगाउने मौका यही हो भन्ने आधारमा अगाडि बढ्यो भने सामान्य सजायभित्रको कुनै पनि बुँदा समातेर उनीमाथी कारवाही हुनसक्छ।

,

news and entertainment