रक्सि खाएर मातेर आफ्नो जिउदो श्रीमतीलाई मट्टीतेल खन्याएर जलाउन खोजेको ....
२१ जेठ, नेपालगञ्ज । श्रीमानले कुटपिट गरी मट्टीतेल छर्केर आगो लगाउन लागेकी एक युवतीलाई उद्धार गरिएको छ । बाँके परसपुर-७ परसपुर गाउँका २५ वर्षीय मनोज बाल्मिकीले मदिराले मातेको अवस्थामा आफ्नै २२ वर्षीया श्रीमती अमृता बाल्मिकीमाथि मट्टीतेल खन्याएर आगजनी गर्न खोजेका थिए ।
मनोज सशस्त्र प्रहरी बल नेपालगञ्जको कारकाँदोस्थित औद्योगिक गणमा सशस्त्र प्रहरी परिचरका रुपमा कार्यरत छन् । उनी अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको नियन्त्रणमा छन् ।मनोजले अमृतामाथि मट्टीतेल खन्याई आगो लगाउने प्रयास गर्दा गर्दै नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रको रिफलेक्ट सर्कल तथा महिला अधिकार मञ्चको पहलमा महिलाको उद्धार गरिएको मञ्चकी महासचिव रुवी खानले जानकारी दिइन् ।
उनले भनिन्-’पत्नीलाई कुटेर मार्नै लाग्यो भनेर खबर आयो । जाँदा त मदिराले मातेको अवस्थामा रहेको मनोजले बेहोस हुने गरी पिटेर मट्टीतेल छर्केको अवस्थामा पुगेर नियन्त्रणमा लिएर उनलाई उद्दार गरेका हौं ।’ अमृताको भेरी अञ्चल अस्पतालमा अमृताको उपचारमा भइरहेको छ ।
घाइते अमृताका २ बच्चा छन् । ८ वर्षीय छोरा र ७ महिनाको छोरा पनि रहेका छन् । घटना हुँदा अमृताकी सासू बजार गएकी थिइन् भने घरमै रहेका दाजु-भाउजू बचाऊन आउँदा मनोजले पिटेर कोठाबाट बाहिर निकालेको प्रत्यक्षदर्शीले बताए ।
सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गणका सशस्त्र प्रहरी उपरीक्षक बिदुर गुरुङ्गले घटना बारे बुझ्नका लागि टोली घटनास्थलमा पठाएको जानकारी दिए ।
