डिफेन्डिङ च्याम्पियन स्पेन विश्वकपबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन स्पेन विश्वकपको २०औ संस्करणबाट बाहिरिएको छ। स्पेनले समूह 'बी' मा आफ्ना सुरुआती दुवै खेल गुमाएपछि समूहचरणबाटै स्पेन बाहिरिएको हो। ब्राजिलको माराकाना रंगशालामा बिहीबार बिहान स्पेन चिलीसगँ २-० ले पराजित हुँदै प्रतियोगिताको विर्सनलायक प्रदर्शन गर्यो।
अन्तर्राष्ट्रिय फुटबलमा तीन ठूला प्रतियोगिताको पछिल्लो विजेता रहेको स्पेनले समूह 'बी' को पहिलो खेलमा नेदरल्याण्डसँग ५-१ ले पराजित भएको थियो।
चिलीले खेलको २० औं मिनेटमा एडुरर्डो भारगासको गोलले अग्रता लिएको थियो । एलेक्सेस सान्चेजले बललाई चाल्र्स एरागुजको क्रसमा भारगासले सानदार गोल गरेका हुन् । दोस्रो गोल पनि स्पेनी गोलरक्षक कसियासकै कमजोरीको फाइदा उठाउँदै चिलीले अग्रता दोब्बर पारेको थियो ।
सान्चेजले प्रहार गरेको फ्रि-किकलाई राम्रोसँग क्लियर गर्न नसकेपछि नेपोलीको फरवार्डसमेत रहेका एरागुजले दोस्रो गोल गरेका हुन्।
दुवै गोल पहिलो हाफमा भएका थिए । समूहको यसअघिको खेलमा नेदरल्यान्ड्सले अस्टे्रलियालाई ३-२ ले हराएको थियो । यस्तोमा दुई दुई खेल जितेर नेदरल्यान्ड्स र चिली यसपल्टको विश्वकपमा दोस्राे चरण पुग्ने पहिलो दुई टिम भएका छन् । समान छ अंकमा गोल अन्तरले नेदरल्यान्ड्स पहिलो स्थानमा छ । उनीहरूबीचको खेलले अब समूह विजेताको निर्णय हुनेछ ।
बिहीबारको हारसँगै स्पेनसहित अस्ट्रेलियाको सम्भावना पनि समाप्त भएको छ । अब स्पेन र अस्ट्रेलियाबीचको खेलले कुनै औपचारिक महत्त्व बोक्ने छैन् । स्पेन समूहको अन्तिम स्थानमा छ । यससँगै अन्तर्राष्ट्रिय फुटबलमा स्पेनको प्रभुत्व पनि समाप्त भएको छ ।
