हारेपछि को को खेलाडीले के के भने खेलाडीको धारणा
रियो दि जेनेरियो , असार ६ - टिम विश्वकपको समूह चरणबाटै बाहिरिएपछि स्पेनका खेलाडीको आ-आफ्नै धारणा व्यक्त गरेका छन् । कप्तान इकर कासियासले खेलाडीले शतप्रतिशत खेल्न नसकेको बताए । मिडफिल्डर जाभी अलोन्सोले टिम जितका लागि त्यति भोगो नदेखिएको प्रतिक्रिया दिए ।
स्ट्राइकर फर्नान्डो टोरेसले स्पेन त्यति राम्रो टिमका रूपमा नदेखिएको बताए । चिलीले बुधबार २-० ले हराएपछि सन् २०१० को विश्वकप विजेता स्पेन प्रतियोगिताबाट बाहिरियो । सुरुआतकै दुई खेलमा हार बेहोरेर विश्वकपबाट बाहिरिने स्पेन पहिलो टिम बन्यो । उसले समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५-१ को हार बेहोरेको थियो । २३ खेलाडी रहेको टिममा १६ जना त दक्षिण अपि|mकामा स्पेनलाई विश्वकप दिलाउँदा खेलिसकेका थिए ।
अलोन्सो, जाभी हर्नान्डेज र कासियास टिमको सफलतामा यसअघि इन्जिनका रूपमा रहेका थिए । तर ब्राजिलमा उनीहरूको कुनै जादू चलेन । 'हामीलाई आफ्नो भोको मनलाई कसरी कायमै राख्नुपर्छ भन्ने थाहा भएन । आनन्द र सफलता अब रहेन, त्यो सकियो,' अलोन्सोले भने,'हामीले आफ्नो शैली नै गुमायौं । जसले हामीलाई सफलता दिलाएको थियो । यो प्रतियोगिता हाम्रा लागि अरू प्रतियोगिता जस्तै रहेन ।' स्पेनका खेलाडीले विपक्षीलाई राम्रोसँग अवलोकन नगरेको बताए । 'खेलाडीमा जित्नैपर्छ भन्ने भावना नै देखिएन,' स्पेनका लागि एक सय ५६ खेल खेलेका कासियासले भने,'सुरुआतदेखि नै सबै कुरा बिग्रँदै गयो ।'
अलोन्सोसँगै कासियास र जाभीको स्पेनका लागि अब अन्तर्राष्ट्रिय करिअर सकिएको छ । स्पेन ब्राजिलमा मनोवैज्ञानिक रूपमा तयार थिएन । 'हारले जितमा ब्रेक लगाइदिन्छ,' अलोन्सोले भने,'सायद त्यसको मुख्य कुरा हुन सक्थ्यो, खेलाडीलाई परिवर्तन गर्नु ।'
टोरेसले भने,'हामी आफ्नै खेल्ने शैलीका कारण तल झर्यौं । पहिले यही शैलीले हामीलाई माथि पुर्याएको थियो । तर यसलाई हामीले सदुपयोग गर्न सक्नुपर्छ ।' उनले टिमले चार वर्षअघि विश्वकप र दुई पटक युरो कपको उपाधि जित्दाभन्दा फरक केही नगरेको बताए । 'त्यसबेला हामीले जितेका थियौं, अहिले हार्यौं,' टोरेसले थपे ।
स्पेनी टिमको हारको मुख्य जिम्मेवार रहे, प्रशिक्षक भिन्सेन्ट डेल बस्क । उनले यसअघिको विश्वकपमा खेलिसकेका खेलाडीलाई प्राथमिकतामा राखे । यी खेलाडीले देश र क्लबबाट सबै उपाधि जितिसकेका थिए । 'हामी राम्रो लयमा छौं भन्ने सोचेका थियौं । अझै भन्ने हो भने सुरुआती ११ खेलाडी छान्नु नै गाह्रो छ । तर वास्तविकता फरक छ,' बस्कले भने,'नेदरल्यान्ड्सविरुद्ध दोस्रो हाफ र चिलीविरुद्ध पहिलो हाफमा हामीले निकै खराब खेल्यौं ।'
बस्कले यस्तो खेलले लगातार सन् २०१६ मा युरो कप तेस्रो पटक जित्ने अभियानमा समेत आँच पुग्ने बताए । स्पेनको यो नतिजा सन् १९९८ को विश्वकपपछि सबैभन्दा खराब हो । समूह 'बी' मा स्पेनले अब समूह चरणको अन्तिम खेलमा सोमबार अस्ट्रेलियाको सामना गर्नेछ ।
- See more at: http://www.ekantipur.com

