दुर्घटनामा तीनको मृत्यु
धादिङ, २२ जेठ । उत्तरी धादिङको आँखुखोलाबाट गिटी बोकेर सल्यानकोटतर्फ गइरहेको बा३ख २९२७ नम्बरको ट्रक बिहीबार साँझ सल्यानकोट–४ चैनपुर भन्ने ठाउँमा पल्टिँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानकोट–४ का ६० वर्षीया मीना नेपाली, वडा नं ४ कै ९ वर्षीया सुन्दरी बस्याल र सल्यानकोट–५ का ९ वर्षीय रवीन्द्र रानामगर रहेका छन् ।
दुर्घटनामा अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीको अनुसार घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
यसैबीच पर्वतको फलामखानी गाविसमा चट्याङ पर्दा बिहीबार दिउँसो एकजनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् । पर्वतको तेस्रो छुवाछूतमुक्त गाउँ घोषणा कार्यक्रमको तयारी गरिरहेका बेला बिहीबार साँझ कार्यक्रमस्थलमै चट्याङ पर्दा फलामखानीका ५८ वर्षीय सर्वजित विकको मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते हुनेमा चन्द्रकला विक, कृष्ण सुनार, सुनिल पोख्रेल र सुमे विक रहेका छन् । चन्द्रकला विक स्थानीय दलित सञ्जालकी अध्यक्ष हुन् । गम्भीर घाइते भएका चारैजना अर्धचेत अवस्थामा रहेको र थप उपचारका लागि पोखरातर्फ पठाउने तयारी भइरहेको स्थानीय फलामखानी उपस्वास्थ्य चौकीका अहेब दिनेश राहुतले जानकारी दिए ।
nepalpati भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
