बामदेबलाइ ठुलो झट्का लोकसेवा आयोगको पुनरावलोकन समितिले एआइजी बढुवाको नाम उल्टायो

गृहसचिव, आइजिपीसहितले पक्षपात गरेको ठहर, यमीसँग वामदेव रुष्ट

बढुवा समितिले 'बदनियतपूर्ण' ढंगले अंक दिएको ठहर गर्दै लोकसेवा आयोग अध्यक्षसहितको पुनरावलोकन समितिले एआइजी बढुवाको नाम हेरफेर गरेको छ।
 
औचित्य नखुलाई कसैलाई 'फुलमार्क' र कसैलाई 'जस्ट पास' गराएर बढुवा समितिले पक्षपात गरेको निश्कर्ष पुनरावलोकन समितिले निकालेको छ।   
 
लोकसेवा आयोग अध्यक्ष कयोदेवी यमी, मुख्य सचिव लीलामणि पौडेल र कानुन सचिव भेषराज शर्मा रहेको समितिले बढुवा समितिको सिफारिस उल्टाएको हो।
 
'प्रहरी नियमावलीले हामीलाई बढुवा समितिले दिएको अंकको औचित्य हेर्ने अधिकार दिएको छ,' यमीले सेतोपाटीसँग भनिन्, 'हामीले त्यसैको आधारमा सिफारिस संशोधन गरेका छौं।'
 
कसैलाई 'काखी च्यापेर' अत्यधिक अंक दिइएको कसैलाई बढुवाबाट वञ्चित गर्ने बदनियतले न्यूनतम अंक मात्र दिएको ठहर पनि यमीको समितिले गरेको छ।
 
पहिलाको सिफारिसबाट कति जना फ्याँकिए र को को नयाँ परे? भन्ने सेतापाटीको प्रश्नको भने उनले जवाफ दिन मानिनन्।
 
'हाम्रो निर्णय खामबन्दी गरेर गृह मन्त्रालय पठाएका छौं, त्यो गोप्य हुन्छ,' उनले भनिन्, 'नाम उतै बुझ्नुस्।'
 
प्रहरी नियमावली २०७१ को ४२(६) ले पुनरावलोकन समितिलाई संशोधनको अधिकार दिएको छ। यो अधिकार यो संशोधनमा ल्याइएको नयाँ व्यवस्था हो।
 
पुनरावलोकन समितिकोे सिफारिस बढुवा समितिले हु–बहु मन्त्रिपरिषदमा पठाउनुपर्ने कानुनी व्यवस्था समेत सोही नियममा छ। गृह सचिव संयोजक रहेको बढुवा समितिले त्यसमा 'नाइनास्ती' गर्न पाउँदैन।   
स्रोतले सिफारिसमा परेका बढीमा तीन जानको नाम फेरिएको दाबी गरेको छ।
 
बढुवा समितिको अधिकारमा रहेको ७.५ अंकबाट बढी 'गोलमाल' गरिएको ठहर यमीको समितिको छ। एआइजीमा बढुवा गर्न सिफारिस गर्ने समितिमा गृह सचिव सूर्य सिलवाल संयोजक, मन्त्रिपरिषद्का सचिव दुर्गानीधि शर्मा सदस्य र आइजिपी उपेन्द्रकान्त अर्याल सदस्य छन्।
 
७.५ अंकमा धेरैजसोलाई ७ वा ७.५ नै दिइएको छ। केदार साउद, रमेशशेखर बज्राचार्य, वीरेन्द्रवावु श्रेष्ठ, प्रतापसिंह थापालाई बढुवा समिति र आइजिपीले दिने कुल १२.५ अंकमा अत्यधिक अंक दिइएको छ।
 
नारायण वस्ताकोटी, गणेश राई र यादव अधिकारीको अंक कम छ। नियमले अत्यधिक र अति कम अंक दिँदा औचित्य खुलाउनुपर्ने भनेको छ। त्यसको पालना नभएको जानकारी स्रोतले दिएको छ।
 
'कार्यसम्पादन मूल्यांकनमा अघिल्ला र यसवर्ष उत्कृष्ट अंक पाउँदै आएका गणेश राई र यादव अधिकारीको यस वर्ष ह्वात्तै अंक घटाएको देखियो,' लोकसेवाका एक अधिकृतले भने, 'कारण नखुलाई कहाँ जस्ट पास मात्र गर्न पाइन्छ।'
 
फुलमार्क पाउनेहरु उनीहरु भन्दा कसरी श्रेष्ठ छन् भन्ने औचित्य नखुलाई दिइएको अंकलाई उजुरी सुन्ने अधिकारीहरुले चित्त बुझाएनन्।
 
कार्यसम्पादन मूल्यांकन, जेष्ठता, भौगोलिक, शैक्षिक योग्यता, तालिमबापत, चुनौतीपूर्ण वा विशेष जिम्मेवारी, विभुषण र बढुवा समितिले दिने सहित विभिन्न आधारमा १०० पूर्णाङ्ककको मूल्यांकन हुने व्यवस्था छ।
 
गृहमन्त्री वामदेव गौतम पुनरावलोकन समितिको सिफारिशबाट रुष्ट भएको जानकारी स्रोतले दिएका छन्। गृहमन्त्रालयले औपचारिक मन्त्रिपरिषदमा लगेर मात्र पुनरावलोकनको सिफारिस खोल्ने भनेको छ।
 
'गृह सचिव सिलवाल, अाइजिपी अर्याल र उपप्रधान एवं गृहमन्त्री गौतमले यो सूची हेरिसक्नुभएको छ र पटक्कै चित्त बुझाउनुभएको छैन,' स्रोतले भन्यो, 'प्रधानमन्त्री आउन अझ पन्ध्र दिन छ, त्यतिञ्जेल उहाँले केही उपाय निकाल्नुहोला।' 

,

news and entertainment