एकपछि अर्को झडपले गोरखा तनाबग्रस्त
शनिबार राती गोरखाको दुई ठाउँमा झडप भयो। गोनपा १० स्थित स्याउलीका सम्भु पन्तलाई मोटरसाइकलले ठक्कर दिएपछि घटनाले उग्र रुप लियो। जिप्रका गोरखाका प्रहरी निरीक्षक रामचन्द्र पौडेलले प्रहरी सञ्चार सेटमार्फत् दिएको गतल निर्देशनलले घटनाले उग्र रुप लिएको हो।
आँबुखैरेनीदेखि गोरखाबजार आउँदै गरेका दुई प्रहरीहरु पनि घाइते भए। ट्राफिक इञ्चार्ज प्रबीन आचार्य र प्रहरी जवान करुण श्रेष्ठलाई आक्रोशित स्याउलीका युवाहरुले कुटपिट गरेको प्रहरीको दावी छ। कुटपिटमा तरुण दल अध्यक्ष ध्रुब पन्तपनि संलग्न रहेको प्रहरीको भनाइ छ।
यता प्रहरीले बजारमा बस्ने 'प्रबीन' नाउँ गरेका युवाहरुलाई खोजी गर्न थाल्यो। 'प्रबीन' नाउँ गरेको युवाले चलाएको मोटरसाइकलले सम्भूलाई ठक्कर दिएको गतल सूचना प्रहरीमाझ फैलिएपछि एकपछि अर्को प्रबीनलाई प्रहरीले जिप्रका झिकाएको हो। चाइनीजधाराका प्रबीन बोगटीलाई बिना कारण प्रहरीले जिप्रका झिकाएको भन्दै युर्थफोर्स अध्यक्ष बसन्त गुरुङ्ग सहित महिला समूह जिप्रका आए।
प्रहरीबिरुद्ध नाराबाजी गरे। मूलगेटमा ताल हानेको र जताभावी बोलेको बताइएको छ। केही समयपछि प्रहरीले सम्भू पन्तलाई ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लियो। बा ५५ प ५७२५ नम्बरको मोटरसाइकल र चालक गोनपा ८ का गोकर्ण बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
घाइते नगरसभापति पन्तको प्राथमिक उपचार गोरखा अस्पतालमा भयो। ढुङ्गा प्रहारबाट घाइते भएका पन्त करीब १५ मिनेट बेहोस भएका थिए। पन्तको थप उपचार काठमाण्डौस्थित टिचिङ्ग अस्पतालमा भएको बताइएको छ।
पोखराथोकका युवाहरुको समूह जिप्रका, जिल्ला प्रशासन, हरमटारी चोकमा दिनभरजस्तो देखिएका थिए। यसैक्रममाः पोखराथोक समूहका गोनपा १ का बिनोद कोइरालालाई हरमटारीचोकमा करीब पाँच जनाको समूहले आक्रमण गर्यो।
हेल्मेट, ढुङ्गाले कोइरालालाई प्रहरीकै बिट अगाडी आक्रमण भएको पोखराथोक समूहले जनाएको छ। दिनदाहाडै कोइरालालाई कुट्ने अपराधिलाई प्रहरीले देख्दादेख्दै संरक्षण गरेको भन्दै पोखराथोक समूहका युवाहरु, स्थानीय, एकीकृत माओबादी, नेकपा–माओबादी लगायत दलले बन्द आब्हान गरे।
घटना साम्य पार्नका लागि क्षेत्रीय प्रहरी कार्यालयबाट एसएसपी केदारमानसिंङ भण्डारीको टोली आइतबार गोरखा आएका बताइएको छ। भण्डारी, सीडीओ बेदप्रसाद खरेल लगायत टोलीले आइतबार दिनभर जिल्लाको सुरक्षाअबस्थाबारे जिल्ला प्रशासन कार्यालयमा एकपछि अर्को बैठक गरे। उनीहरुले कांग्रेस, एमाले लगायत दलका जिल्लास्तरीय नेतृत्वसँग छलफल गरेका थिए।
सीडीओ खरेललाई जिल्लाको सुरक्षा अवस्थाबारे आइतबार साँझ पौने आठ बजेतिर पटक–पटक उनको टेलिफोनमा सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन्।
