सरकारको अदूरदर्शी कदमले कामदार मारमा, नयाँ पासपोर्ट लिएर गएका कामदार डिपोर्ट भए...

१९ जेठ, काठमाडौं । वैदेशिक रोजगार विभागले एकाएक हस्तलिखित पासपोर्टमा अन्तिम श्रम स्वीकृति नदिने घोषणा गर्‍यो । छुट्टीमा घर आएकाहरु हाँपदाँप गर्दै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन झुत्तिए ।

धेरैले बनाए पनि । नयाँ पासपोर्टमै श्रम स्वीकृति पनि लिए ।

तर, भिसा त पुरानो हस्तलिखित पार्सपोर्टमा थियो । जुन पासपोर्टलाई परराष्ट्रले बकाइदा ‘रद्द गरिएको छ’ भनी छाप हानिदिएको छ । अब त्यसमा भएको भिसा बैधानिक हुन्छ कि हुँदैन ?

यो प्रश्न न परराष्ट्र अधिकारीले सोचे, न वैदेशिक रोजगार विभागकाले न त व्यवसायीले । वैदेशिक रोजगारमा जानेहरुको यस्तो प्राविधिक विषयमा ध्यान जाने त कुरै भएन ।

यी सबै जना त्यतिखेर छाँगाबाट खसे, जब मलेसियाको अध्यागमन विभागले ‘रद्द गरिएको’ पासपोर्ट र त्यसमा रहेको भिसालाई मान्यता दिएन । र, नेपाली कामदारलाई धमाधम अध्यागमनबाटै फर्काउन थाल्यो ।
यसरी हस्तलिखित ‘रद्द’ पासपोर्टकै कारण १७ जना नेपाली कामदार शुक्रबार मलेसियाबाट र्फकन बाध्य भएका छन् ।

उनीहरुले अध्यागमनको हिरासतमा रातसमेत बिताउनुपरेको नागरिक दैनिकमा खवर छ ।
मोरङका विष्णुबहादुर अधिकारी त्यसैमध्ये एक हुन् । दुईमहिने घरबिदामा आउँदा उनले एमआरपी बनाएका थिए । त्यसबेला वैदेशिक रोजगार भिावगले एमआरपीमा मात्र अन्तिम श्रम स्वीकृति जारी गर्ने घोषणा गरेको थियो ।
उनले विभागमा सोधे पनि, ‘मेरो त भिसा पुरानो पासपोर्टमा छ, नयाँ बनाएपछि भिसा के हुन्छ ?’
विभागका एक कर्मचारीले सजिलै जवाफ दिए, ‘भिसा पुरानोमा भए पनि केही हुन्न, तर अन्तिम श्रम स्वीकृति नयाँमै लिनुपर्छ ।’

सरकारी कर्मचारीले नै आश्वास्त पारेपछि शंकाको गुन्जायसै रहेन । उनले ढुक्कसँग नयाँ पासपोर्ट बनाए । र, बिदा मनाइवरि बिहीबार एयर एसियाको उडानबाट ढुक्कसँग मलेसिया लागे ।

 ‘मलेसियाको अध्यागमनले जत्ति भन्दा पनि मान्दै मानेन,’ शुक्रबार काठमाडौं ओर्लिएका अधिकारीले भने, ‘अध्यागमन हिरासतमै एक रात थुनेर पासपोर्ट र भिसा नक्कली भन्दै पत्र काटेर नेपाल फिर्ता पठाइदियो ।

,

news and entertainment