चिनियाँ इन्जिनियरद्वारा नै विमान उडाउन अस्वीकार
चौतर्फी विरोध भएपछि बल्लतल्ल दर्ता भएको चिनियाँ जहाज एमए–६० अझै उड्न सकिरहेको छैन। अस्ति सोमबार १० बजे हवाई विभागका इन्जिनियर, वरिष्ठ अधिकृत, निगमका अधिकारी, चिनियाँ पाइलट र कोपाइलटहरू परीक्षण उडानका लागि तयार भएर विमानमा बसिसके पनि विमानका चिनियाँ इन्जिनियरद्वय ला ओचुन्फेङ र मा चाओले टेक्निकल लगबुकमा हामीलाई विमान उडाउन स्वीकृति दिने अधिकार नभएको भन्दै हस्ताक्षर गर्न नमानेपछि सो विमान उड्न नसकेको खबर आजको नेपाल समाचार पत्र र नागरिक दैनिकमा छापिएको छ।
लामो प्रयास र दबाबपछि पनि विमान उडाउन स्वयम् चिनियाँ प्राविधिकहरू नै तयार नभएकाले सो विमान प्राविधिक रूपमै उड्न अक्षम छ भनी यस राष्ट्रिय दैनिकले उठाउँदै आइरहेको कुरालाई यसले थप पुष्टि गरेको छ। अन्तिम समयमा आएर परीक्षण उडान गर्न नसकेपछि निगमका पदाधिकारीहरू निकै अत्तालिएको बताइएको छ।
विमान उडाउन नसकेको खबर पर्यटनमन्त्री भीम आचार्यसम्म पुगेपछि मन्त्री आचार्यले तत्कालै सम्बन्धित सबै व्यक्तिलाई मन्त्रालय बोलाएर आकस्मिक बैठक गरेका थिए। अब उतैबाट आएका इन्जिनियरहरूले नै विमान उडाउन स्वीकृति नदिएपछि विमान निर्माण गरेको कम्पनीबाट पुनः अरू प्राविधिकहरू बोलाउने विषयमा पनि बैठकमा लामो छलफल भएको थियो। विमान कम्पनीले सम्झौताअनुसार जम्मा ९० दिनका लागि मात्र पाइलट र कोपाइलटहरू निःशुल्क उपलब्ध गराएको छ। चीनबाट पाइलटहरू आएको पनि धेरै दिन भइसकेको छ।
९० दिनभन्दा बढी पाइलटहरूलाई राख्नुपर्दा निगमले प्रतिपाइलट मासिक ६ हजार डलर थप व्ययभार बोक्नुपर्ने हुन्छ। यही विवाद र अन्योलकै कारण निगमको व्यवस्थापनमा व्यापक फेरबदल भइसकेको छ। अक्षम भएको भनी निगमले आफ्नो कर्पोरेट डाइरेक्टर रामहरि शर्मालाई हटाएर उनको ठाउँमा सरोज कसजुलाई ल्याएको छ।
निगमका प्रवक्तासमेत रहेका शर्मामाथि प्रेससँग दुव्र्यवहार गर्ने गरेको आरोपसमेत लाग्ने गरेको छ। स्मरणीय छ, यही असार १५ गतेभित्र यो विमान उड्न नसके नेपाल वायुसेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरू समेत अख्तियारको कारबाहीमा पर्ने निश्चित भइसकेको छ।
