अधिकारी दम्पतिलाई वीरका डाक्टरले उपचार गर्न नसक्ने
अधिकारी दम्पत्तिलाई बचाउन सक्दैनौं : वीर अस्पताल
आफ्ना छोराको हत्यारालाई कारबाही गर्न माग गरि अनसन बस्दै आएका गोरखा फुजेलका अधिकारी दम्पतिलाई उपचार गर्ने वीर अस्पतालका डाक्टरहरुले अन्यत्रै सार्न त्यहाँका निर्देशकलाई भनेका छन्।
दम्पतिको अवस्था र जिद्दीले गर्दा उनीहरुलाई बचाउन गाह्रो भएको भन्दै उनीहरुले निर्देशक केदार सेन्चुरीलाई भनेका हुन्।
'डाक्टरहरुले सकिन्छ भने अन्य अस्पताल लैजान भन्नुभएको छ,' सेन्चुरीले भने 'उहाँहरु पनि आजित भैसक्नु भएको छ।'
उनीहरुलाई उपचार गर्ने डाक्टरहरुले यस्तै अवस्थामा बचाउन गाह्रो हुने भनेको पनि निर्देशक सेन्चुरीले बताए।
"गंगामायालाई त गुल्कोज मात्रै दिन मिल्छ अरु नसाहरुले काम गर्न छोडेका छन्, नन्दप्रसादको स्वास्थ्य ठीक भएपनि उहाँले बेलाबेला शरीरमा औषधि पठाएका नलिहरु झिकेर फ्याँकिदिनुहुन्छ,' उनले भने।
केही समय अघि वीर अस्पतालले अधिकारी दम्पतिको जीवन रक्षाका लागि दिँदैँ आएको सम्पूर्ण पौष्टीक तत्व भएको औषधि (टिपिएन) दिन बन्द गरेको थियो।
टिपिएन दिन फेरि थाले पनि उनीहरुको अवस्थाका कारण शरीरमै पठाउन नसकिने निर्देशक सेन्चुरीले बताए।
'टिपिएन पनि कहिले पाइन्छ कहिले पाइदैन, पाएपनि गंगामायालाई त दिनै सकिदैन।'उनले भने।
उनीहरुको अवस्था बिग्रदै गएको उनले जानकारी दिए।
दम्पतिहरु अनसन बसेको २ सय ७३ दिन पुगेको छ। निर्देशक सेन्चुरीका अनुसार, दम्पतिको उपचारका लागि अहिलेसम्म वीर अस्पताले २१ लाख रुपैया खर्च गरेको छ। त्यसबाहेक अस्पतालको बेड चार्ज मात्र ४ लाख पुगीसकेको छ।
गृहमन्त्रालयले दुवै जनाको उपचार खर्च वीर अस्पताललाई दिने भनेपनि अझै नपठाएको निर्देशक सेन्चुरीले गुनासो गरे। सरकारले उपचार नरोक्नु र पैसाको व्यवथा गर्छौ भनेकाले अन्तिमसम्म उपचार गर्ने पनि उनले बताए।
