वीर अस्पतालमा बिहीबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प हुने !
वीरका आवासीय चिकित्सकहरू आन्दोलनमा
काठमाडौं - वीर अस्पताल र चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स) को अवस्था सुधार्न विभिन्न माग राख्दै वीर अस्पतालका आवासीय चिकित्सकहरूले आन्दोलनमा उत्रने भएका छन् । वीर अस्पताल र न्याम्सको अवस्था बिग्रदै गएको भन्दै चिकित्सकहरू आन्दोलनमा उत्रन लागेका हुन् । उनीहरूले भोलि सोमबार पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गर्ने भएका छन् ।
बुधबारसम्म आफ्ना माग सम्बोधन नभए बिहीबारदेखि अस्पतालको आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी चिकित्सकहरूले दिएका छन् । न्याम्समा अध्ययनरत आवासीय चिकित्सकहरूको संगठन रेजिडेन्ट डक्टर्स एशोसियसन अफ न्याम्स (¥यान)का अध्यक्ष डा. मंगल रावलले सीमित व्यक्तिको स्वार्थका कारण वीर अस्पताल र न्याम्स धरासायी हुँदै गएकाले आन्दोलन गर्न बाध्य भएको बताए । आवासीय चिकित्सकहरूले न्याम्समा डिएम तथा एमसिएचसम्मको अध्ययन हुने भएपनि वीर अस्पतालमा अत्यावश्यक उपकरणको अभाव भएकाले तत्काल सिटिस्क्यान, सिआर्म, लिनिएर एक्स्लिेटर, एमआरआइजस्ता अपकरणको तत्काल व्यवस्था गर्नुपर्ने माग गरेका छन् । उनीहरूले न्याम्सको शैक्षिक गरिमा बढाउन दीक्षान्त समारोह आयोजना गर्नुपर्ने, आवासीय चिकित्सकका लागि आवासको व्यवस्था हुनुपर्ने, न्याम्स तथा वीर अस्पतालमा रिक्त पदाधिकारीको तत्काल नियुक्ति गर्नुपर्ने लगायतका माग उनीहरूको छ । न्याम्समा हाल २७० जना आवासीय चिकित्सक छन् । न्याम्स पोष्टग्राजुयट अध्ययनका लागि नेपालकै ठुलो शैक्षिक संस्था हो । आवासीय चिकित्सकको आन्दोलनलाई वीर अस्पताल र न्याम्सका कर्मचारीहरूले समर्थन गरेको डा. रावलको भनाइ छ । वीर अस्पतालमा उपकरण अभावका कारण बिरामीले मात्र होइन अध्ययनरत चिकित्सकले पनि पीडा भोग्नुपरेको छ ।एजेन्सी

