आईजीपीले हप्काए बामदेव गौतमलाई

Upendra-kanta-aryal-IGP-Policeकाठमाडौं । शून्य सहनशिलताको नारा लिएर प्रहरीमा व्यापक सुधार गर्छु भन्दै विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल यतिबेला निराश र तनावमा छन् । एकातर्फ सरुवा बढुवा समेत समयमा गर्न नसक्दा प्रहरी संगठन अस्तव्यस्त बन्दै गएको छ भने अर्कोतर्फ संगठनभित्र अर्यालको अलोकप्रियता बढ्दै गएको छ ।
आठ महिनादेखि प्रहरी संगठन एआईजी विहिन छ । एसएसपीलगायत पदको सरुवा समेत समयमा हुन सकेको छैन । बल्लतल्ल उनले डिएसपी र इन्सपेक्टरको केही सरुवा निकालेका छन्, त्यो पनि विवादमुक्त हुन सकेन । अपराध अनुसन्धान जस्तो संवेदनशिल ठाउँमा विजयलाल कायस्थ जस्ता एसएसपीहरु कामै नभए जसरी दिन काटेर बस्ने गरेका छन् । सरुवाको विषयलाई लिएर अर्यालले केही प्रहरी अधिकारीलाई हप्काएका छन् । गृहमन्त्री वामदेव गौतमलगायतको सोर्सफार्स लगाएर आकर्षक ठाउँमा सरुवाका लागि लबिङ गर्ने प्रहरी अधिकारीलाई अर्यालले झपारेका हुन् ।
त्यसरी आईजीपीको गाली खाने एक प्रहरी अधिकारी वामदेव गौतम हुन् । गृहमन्त्री वामदेव गौतमसँग नाम मिल्ने उनी गृहमन्त्रीका आफन्त पनि हुन् । दुई वर्षअघि डिएसपीमा बढुवा भएका अधिकृत हुन् । गृहमन्त्रीको आफन्त भएपनि आफूले रोजेको ठाउँमा सरुवा हुन उनी चाहन्थे । तर त्यस्तो भएन, आईजीपीले गृहमन्त्रीको सिफारीस मानेनन् । स्रोतका अनुसार डिएसपी गौतमले जिल्ला प्रहरी कार्यालय धादिङमा सरुवा हुन चाहेका थिए । त्यसकारण लागि गृहमन्त्रीको भिटो प्रयोग गराएका थिए । तर पनि उनको सरुवा इलाका प्रहरी कार्यालय कावासोतीमा सरुवा भयो ।
सरुवाका लागि अत्याधिक राजनीति दबाब दिएको भन्दै डिएसपी गौतमलाई झपारेका हुन् । ‘तिम्रा मान्छे अस्थायी हुन्, म अझै साढे दुई वर्ष आईजीपी नै हुन्छु, ख्याल गर’ भन्दै आईजीपीले डिएसपी गौतमको सातो लिएको स्रोत बताउँछ । अघिल्लो पटक बामदेव गृहमन्त्री हुँदा पनि अहिले डिएसपी रहेका गौतम दरबारमार्ग प्रभागको प्रमुख थिए । त्यसबेला रंगेहात घुससहित पक्राउ परेपछि उनी निलम्बनमा परेका थिए । विवादास्पद छवी भएका उनलाई राम्रो जिल्ला दिंदा आफ्नो आलोचना हुने डरले अर्यालले डिएसपी सरुवामा गृहमन्त्रीको सिफारिसलाई अस्वीकार गरेका थिए । त्यसकारण इन्सपेक्टर र डिएसपी दुबै सरुवाले गृहमन्त्री र आईजीपीबीच सम्बन्ध चिसिएको स्रोत बताउँछ । एसएसपी सरुवाको तयारी पनि भइरहेको छ । तर पनि कुरा मिल्न सकेको छैन ।
यसैबीच दरबारमार्ग प्रहरी बृत्तको हिरासतमा रहेका ठमेलका डन राम गिरीलाई छुटाउन पूर्व एसपी ढकबहादुर कार्की लागि परेका छन् । घरेवेटीले भाडा माग्दा खुकुरी प्रहार गरेको आरोपमा उनलाई दरबारमार्ग प्रहरीले पक्राउ गरेको थियो । तर कार्कीले दबाब दिएपछि दरबारमार्गका प्रमुख डिएसपी राजकुमार सिलवालले गिरीलाई अपराधीकलाई गर्ने व्यवहार गर्नुको साँटो आफन्तको व्यवहार गर्ने गरेको दरबारमार्गका प्रहरीहरु बताउँछन् ।

,

news and entertainment