अमेरिकी पत्रकारको हत्याको निन्दा
एकजना अमेरिकी पत्रकारलाई सिरियामा विद्रोही समूह इस्लामिक स्टेटले टाउको काटेर विभत्स रुपमा हत्या गरेको घटनाको संसारभर निन्दा गरिएको छ।
पत्रकार जेम्स फोलेको टाउको काटिएको जस्तो देखिने भिडियो आधिकारिक भएको ह्वाइट हाउसले जनाएको छ।
यसअघि ह्वाइट हाउसले यदि उक्त भिडियो साँचो पुष्टि भए त्यस्तो विभत्स हत्याले अमेरिकालाई स्तब्ध पार्ने बताएको थियो।
ब्रिटिश जस्तो सुनिने लवज भएका नकावधारी हत्याराको पहिचान गर्ने काममा जासुसी संस्थाहरु लागिरहेका छन्।
उक्त विभत्स हत्याको अमेरिकासँगै ब्रिटेन र फ्रान्सले पनि आक्रोश र खेद व्यक्त गरेका छन्।
दुईवर्षदेखि हराइरहेका फोलेको हत्या गरिएको भिडियो जिहादी समूहले सार्वजनिक गरेको हो।
अमानवीय
उक्त समूहले अमेरिकाले आफ्ना लडाकुमाथि गरेको हवाइ हमलाको बदला स्वरुप हत्या गरेको बताएको छ।
फ्रान्सले यदि उनको हत्या त्यस्तै विभत्सरुपमा भएको पुष्टि भए त्यो एकदमै जंगली हुने बताएको छ भने ब्रिटेनले त्यसलाई अमानवीय भनेको छ।
फोलेकी आमा डाएनले आफ्नो छोराले पुरै जीवन सिरियाका मानिसहरुको पीडा संसारलाइ देखाउनका लागि खर्चेको बताएकी छिन्।
अमेरिकी राष्ट्रपति बराक ओबामाले उक्त घटनाबारे आफ्नो विज्ञप्ति केहीपछि दिने बताइएको छ।
तर ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ता केटलिन हेडेनले निर्दोष अमेरिकी पत्रकार विभत्स रुपमा मारिएको उक्त घटना साँचो ठहरिए त्यसले आफूहरुलाई स्तब्ध बनाउने बताइन्।
सिरिया तथा मध्यपूर्वबाट फोलेले अमेरिकी प्रकाशन ग्लोबल पोष्ट र फ्रान्सेली समाचार संस्था एएफपीलाई समाचारहरु पठाउने गर्थे।
बदला
एक विज्ञप्तिमा ग्लोबल पोष्टले फोले र उनको परिवारको लागि प्रार्थना गरेको भन्दै भिडियोको पुष्टि कुरिरहेको बताएको छ।
अमेरिकाको लागि एक सन्देश नामक भिडियोमा जेम्स फोले भनि देखाइएका व्यक्तिले सुन्तला रंगको लुगा लगाइरहेको र उनलाइ मरुभूमिजस्तो क्षेत्रमा घुँडा टेकाएर राखिएको देखिन्छ।
भिडियोमा उनको पछाडि एकजना कालो लुगा लगाएका हतियारधारी मानिस उभिएका देखाइउको छ।
फोलेले आफ्नो परिवारका लागि एक सन्देश छोड्दै आफ्नो मृत्युलाई अमेरिकाले इराकमा इस्लामिक स्टेट समूहलाई बनाएको निशानासँग जोडेका छन्।
मारिनु अघि दबाबमा रहेका उनले परिवार, साथीभाइ, प्रियजन र अमेरिकी सरकारलाई आफूलाई जे भए पनि त्यो विद्रोही समूहको आपराधिक मानसिकताको उपज भएको बताएका छन्।
त्यसलगत्तै बेलायती लवजका नकावधारी लडाकुले अमेरिकी सरकारलाई चेतावनी दिँदै अमेरिकाले हवाइ हमला जारी राखेमा उनीहरुले बन्धक बनाएका अर्का अमेरिकी पत्रकारको पनि त्यसैगरी हत्या गरिने बताएका छन्।
उनले आफूहरु इस्लामिक सेना भएको र आफ्नो समूहलाई विश्वभरका मुसलमानहरुले स्वीकारेको बताएका छन्।
