चितवनका नाम चलेका मिष्ठान्न भण्डारमा अनुगमन, मिठाइमा कीरा र रौँ भेटियो

एनपी न्यूज डटनेट, चितवन, ७ भदौ । चितवनको वैष्णव मिष्ठान्न भण्डार र राम मिष्ठान्न भण्डार चितवनका नाम चलेका मिठाइ पसल मानिन्छन् । बाहिरबाट हेर्दा दुवै पसलको सालसज्जाले ग्राहकहरु आकर्षित हुन्छन् । यी दुई पसलमा दैनिक सयौँको संख्यामा ग्राहकहरु खाजा खान जाने गर्दछन् । चाडबाडमा त यी दुई पसलबाट लाखौँको मिठाइहरु बिक्री हुने गर्दछ । तर, mithai ma kiraअनुगमनका क्रममा ती मिठाइहरु अस्वस्थकर भएको भेटिएको छ । बाहिर हेर्दा राम्रो भए पनि यी दुई मिठाइ पसलबाट उत्पादित केही मिठाइहरुमा भने अखाद्य बस्तु भेटिएको छ । शुक्रबार यी दुई मिठाइ पसलमा गरिएको अनुगमनका क्रममा सरसफाइमा निकै कमजोरी पाइएको छ । राम मिष्ठान्नमा भर्खरै बनाएर तयार गरिएको रसवरीमा समेत झिँगा र कीराहरु भेटिएको थियो । यसअघि भएका अनुगमनमा यस पसलमा सरसफाईमा लापरबाही भएको भन्दै प्रशासनले बारम्बार चेतावनी दिएको थियो । राम मिष्ठान्न भण्डार सञ्चालक रामप्रसाद सुवेदीले प्रशासनको चेतावनीलाई एक कानले सुनेर अर्को कानले उडाइदिए । मिठाइ उत्पादन हुने ठाउँमा फोहोर भाँडा, सडेगलेका मिठाइहरु, जताततै पानी पोखिएको र कामदार स्वयम् सफा नरहेको अवस्थामा खाद्य निरीक्षण टोलीले भेटेको थियो । मिठाइ बनाउने ठाउँको दृश्य देख्दा त्यहाँ उत्पादित मिठाइ खान जोकोही पनि हच्किन्छन् । वैष्णव मिष्ठान्न भण्डारका कामदारहरुले मिठाइ र समोसा बनाउँदै गर्दां रौँ भेटिएको थियो । यो रौँ कसरी आयो भन्ने जिज्ञासामा ती कामदारले भने, कहिलेकाहीँ झुक्केर परेको होला । उनीहरुको जवाफबाट नै प्रस्ट हुन्छ कि आम उपभोक्ताले स्वाद मानीमानी खाने मिठाइमा अखाद्य बस्तु भेटिनु कुनै नौलो कुरा होइन । यी त भेटिएका कुरा भए, भित्रीरुपमा चितवनका मिठाई पसलहरुको हविगत दयनीय छ । आम उपभोक्ताको स्वास्थ्यलाई बेफाइदा हुने गरी बनाइने र बेचिने यस्ता मिठाइ पसलहरुको अनुगमनमात्र नभई अव कारबाही पनि थालिने खाद्य तथा गुण नियन्त्रण विभाग हेटौँडाका खाद्य अनुसन्धान अधिकृत अनुप दलवाई बताउँछन् । उपभोक्ता हीतविपरीत मिठाइ उत्पादन र बिक्री भएकोमा दलवाईले यस्ता पसलहरु कानुनी प्रक्रिया अपनाएर चेतावनी दिने, कारबाही गर्ने र कसै गरे पनि नटेरेको अवस्थामा बन्द गर्नसमेत पछि नहट्ने बताए । यसैबीच, अनुगमन टोलीले शुक्रबार नै लायन्सचोकस्थित तरकारी मण्डीमा गरेको अनुगमनका क्रममा केरा पकाउन कार्बाइड नामक रसायन प्रयोग गरेको पाइएको छ । स्थानीय एक व्यपारीले हरियो केरा पकाउन खाताखात रहेको केराभित्र प्लाष्टिकमा कार्बाइड राखिएको पाइएको खाद्य एकाइ चितवनका प्रमुख विष्णु पौडेलले बताए । केरा पकाउन प्रयोग गरिएको कार्बाइडको खास प्रयोजन भने गाडीमा वेल्डिङ गर्न प्रयोग गरिने अनुगमन अधिकृतहरुको भनाइ छ । यसले ताप उत्पन्न गर्न सहयोग गर्छ । कार्बाइड प्रयोग गरिएको फलफूलको सेवनबाट जटिल किसिमको रोग लाग्ने चिकित्सकहरु बताउँछन् । यसैबीच, चाडबाड लागेसँगै जिल्ला प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ । शुक्रबार दन्तकाली किराना स्टोर लायन्सचोक, वैष्णव र राम मिष्ठान्न भण्डार, कमल पाउरोटी र परिवार पाउरोटी उद्योगमा अनुगमन गरेको थियो । सर्वसाधारण भने चाडबाडको समयमा दैनिकजसो बजार अनुगमन हुनुपर्ने र अन्य समयमा हप्ता दिनको फरकमा बजार अनुगमन हुनुपर्ने सम्बन्धित निकायलाई सुझाव दिएका छन् । अनुगमन केवल अनुगमनमात्र नभई गल्ती गर्नेलाई उपभोक्ता संरक्षण ऐनअनुसार नै कारबाही गर्नुपर्ने सर्वसाधारणले माग गरेका छन् । (-दिपेन्द्र अधिकारीको सहयोगमा ।) www.npnews.net/

, , ,

news and entertainment