५ भदौ । कैलाली जिल्लाको पूर्वी क्षेत्रमा विभिन्न रोगको सङ्क्रमण देखिन थालेको छ ।
एक हप्ताअघि गएको बाढी र डुबानको समस्याबाट प्रभावित कैलालीमा विभिन्न रोगको सङ्क्रमण देखिन थालेपछि औषधिसहित स्वास्थ्यकर्मीको टोली रोग प्रभावित क्षेत्रमा परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख जयबहादुर कार्कीका अनुसार बुधबार मात्रै बाढी र डुबान प्रभावित क्षेत्र धनसिंपुर, मुनुवा, भजनी, थापापुर, जोशीपुर, बौनियालगायतका क्षेत्रमा स्वास्थ्यकर्मीको टोलीले झन्डै ४ सय बिरामीले उपचार गराएका थिए ।
ती क्षेत्रका बासिन्दामा आँखा पाक्ने, भाइरल ज्वरो, टाइफाइड, पखाला, आउँमासी, छालासम्बन्धी रोगको सङ्क्रमण देखिन थालेको खबर राष्ट्रिय समाचार समितिले लेखेको छ ।
स्वास्थ्यकर्मीको टोलीले रोगको सङ्क्रमणबाट बढी प्रभावित क्षेत्रका वडामा नै पुगेर बिरामीको उपाचार सुरु गरेको छ । रोगबाट कम प्रभावित अन्य क्षेत्रका बिरामीको भने सम्बन्धित क्षेत्रका स्वास्थ्य चौकीमार्फत उपचार थालिएको जनाइएको छ ।
प्रभावित क्षेत्रमा रोगको प्रकोप फैलिन नदिन उच्च सतर्कता अपनाएको र यस क्रममा स्वास्थ्यसम्बन्धी चेतनामूलक क्रियाकलाप पनि सुरु गरिएको कार्कीले बताए ।
बाढी र डुबानपछि प्रभावित क्षेत्रमा खानेपानीको स्रोत प्रदूषित भई खानपिनमा ध्यान नदिएको र आवासमा देखिएको समस्याका कारण रोगको सङ्क्रमण देखिएको जनाइएको छ ।
यसैबीच बाढी प्रभावित कैलालीको कौवापुर क्षेत्रमा वितरित खानेपानीको पाइपलाइन बाढीले बगाएर क्षति पु¥याएपछि त्यो क्षेत्रमा खानेपानीको अभाव भएको स्थानीयवासीले बताएका छन् ।
पाइप लाइन बगाएर धारामा पानी आउन छाडेपछि त्यहाँ झन्डै दुई हजार घरधुरीलाई खानेपानीको समस्या भएको हो ।
कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा उर्लिएर आएको बाढी कैलालीको पूर्वी क्षेत्रका बस्तीमा पसेपछि ती क्षेत्रका दुई हजार ६ सय १४ घरपरिवार प्रभावित भएकामा एक हजार ७ सय ४५ घरपरिवार विस्थापित थिए । विस्थापित अहिले पुनः घर फर्किसकेका छन् ।
यस्तै ११ घरमा पूर्ण रूपमा क्षति र १ सय ४५ घरमा आङ्शिक क्षति पुगेको छ । कर्णाली नदीमा पहिलोपटक सबैभन्दा ठूलो बाढी (खतराको चिह्नभन्दा निकै माथि) आएपछि स्थानीय प्रहरी प्रशासनद्वारा अपनाइएको सतर्कताका कारण मानवीय क्षति भने त्यति हुन नपाएको हो ।
स्थानीय पथरैया नदी तर्ने क्रममा थापापुरका ६५ वर्षीय लालबहादुर धामीको बगेर मृत्यु भएको थियो भने कर्णालीले बगाएर ल्याएका थप दुई शवको सनाखत हुन नसकेपछि खाल्डोमा गाडिएको थियो ।
बाढी र डुबानबाट पुगेको क्षतिको विस्तृत अध्ययन सर्वेक्षणको काम भने रेडक्रस, नेपाल प्रहरी, गाविस सचिव र स्थानीय प्रशासनका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले जारी राखेको छ ।
बाढी र डुबानबाट प्रभावित कैलालीको पूर्वी क्षेत्रमा विभिन्न रोगको सङ्क्रमण देखिन थाल्यो
news and entertainment
