दुईवटा बम विस्फोट गरिएपछि थुनिएको नदी बग्न थाल्यो
नेपाली सेनाले भोटेकोसी थुनिएको स्थानमा दुईवटा बम विस्फोट गरेको छ । यसअघि नदी थुनिएको ठाउँबाट ओभर फ्लो भएर बग्न सुरु गरेको थियो । सेनाले बिस्फोट गरी माटो हटापछि सुनकोशी नदी पहिलेको तुलनामा निकै उच्च वहावले बगेको छ ।
विस्फोटपछि थुनिएको ठाउँबाट पानी बग्न थालेको छ । अहिले बगेको पानी पहिले बग्नेभन्दा केही ठूलो देखिएको छ ।
पानी बग्न थालेपछि माथिल्लो क्षेत्रको क्षतिको सम्भावना टरेको छ । तर, पानीको बहाव बढेमा भने तल्लो भागमा ठूलो क्षति पुर्याउने अनुमान छ । यसका लागि सम्भावित क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
सिन्धुपाल्चोक, काभ्रे, उदयपुर, सप्तरी, सुनसरी र ओखलढुंगाको सुनकोशी नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
शनिबार विहान बिहान गएको पहिरोले थुनिएको सुनकोसी नदी खुलाउने कार्य दिउँसो २ बजेबाट मात्र सुरु भएको थियो । नदी थुनिएभन्दा तलका बासिन्दालाई सुरक्षित स्थानमा नपुर्याएसम्म नदीको मार्ग खोल्दाा जोखिम उच्च रहने भएकाले त्यस्तो उपाय अपनाइएको हो ।
पहिरोले के कति धनजनको क्षति गर्यो भन्ने कुनै अनुमान छैन । अहिले सबैको ध्यान थुनिएको सुनकोशी कसरी खुलाउने भन्नेतिर नै गएको र थप जनधनको क्षति हुन नदिनेतिर केन्द्रित भएको छ । अर्कोतिर पहिरो क्षेत्रमा उद्धार कार्य गर्न निकै कठिन रहेकाले पनि नदीको वहाव सामान्य भएपछि मात्र खोजी हुनसक्ने बताएको छ ।
पछिल्लो समाचार विवरण अनुसार अहिलेसम्म आठ जनाको मृत्यु भएको र १०० भन्दा बढी बेपत्ता भएको छ । तीमध्ये छ जनाको सनाखत भएको छ । सनाखत हुनेहरूमा बदासे–१ का ४० वर्षीय अभिषेक श्रेष्ठ, माङ्खा–१ का १८ वर्षीया आष्मादेवी श्रेष्ठ, सोही वडाका १७ वर्षीया रामदेवी श्रेष्ठ र ४० वर्षीया गणेशमाया श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।
सोही वडाका ३० वर्षीया विमला श्रेष्ठ र ३५ वर्षीय श्याम श्रेष्ठको यसअघि नै सनाखत भएको थियो । अन्य दुई जनाको सनाखत हुन बाँकी छ ।
पहिरोग्रस्त क्षेत्रबाट एकजना बेल्जियम नागरिकसहित १६ जना घाइतेको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।
पहिरोग्रस्त क्षेत्र नजिकैको धुस्कुन गाविसका प्रत्यक्षदर्शी स्थानीय शिक्षक पृथ्वीजङ्ग पाण्डेले नदी थुनिएर बनेको तालमा चौपायाहरू छट्पटाइरहेको देखिएको बताउनुभयो ।
यसैबीच सरकारले घाइतेहरुको उपचार निशुल्क गरिदिने घोषणा गरेको छ भने पीडितहरुलाई प्रति परिवार तत्काल राहत स्वरुप ४० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
- See more at: http://www.nepaljapan.com/2014/08/02/124776/#sthash.hdFazrGJ.dpuf
