आज घर–घरमा फुलपाती भित्र्याइदै
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याइन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने जनाइएको छ । हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । आजैका दिनबाट सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्छ । फलस्वरूप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटे पिङले दसैंको रौनकतालाई अझ बढाउने गर्छ । रासस
