कस्तो समस्यामा कस्तो डाक्टर भेट्ने ?



बिरामीले सही उपचार पाउन सही डाक्टर भेट्नुपर्छ । जसका लागि बिरामीले आफ्नो रोगअनुसार विशेषज्ञ डाक्टर पहिचान गर्न सक्नुपर्छ । रोगअनुसार सही डाक्टर पहिचान गर्न २ वटा कुरामा ध्यान दिनुपर्छ । पहिलो– डाक्टरको डिग्री र दोस्रो– उसको विशेषज्ञता । जानकारी अभावमा मेडिकल समस्यामा सर्जनकहाँ जानु, सर्जरीका लागि फिजियसनलाई भेट्नु र आफ्नो रोगसंग सम्बन्धीत विशेषज्ञका बारेमा थाहा नहुँदा अर्को रोगका विशेषज्ञ डाक्टरलाई भेट्नु आमसमस्याको रुपमा देखिएको छ । सही डाक्टर पहिचान गर्न नसक्दा उपचार खर्च बढी पर्ने, अनावश्यक जाँच गर्नुपर्ने, समय बर्बाद हुने, सही उपचार हुन नसक्ने र रोग जटील बन्दै जाने समस्या उत्पन्न हुन सक्छन् । शारीरिक समस्या देखिएमा सकभर पहिला फिजिसियनलाई देखाउनुपर्छ । फिजिसियनको सल्लाहअनुसारमात्र विशेषज्ञ डाक्टरलाई देखाउनुपर्छ ।

डाक्टरहरु विभिन्न प्रकारका हुन्छन् । जस्तैः मेडिकल अफिसर, कन्सल्टेन्ट, जनरल फिजिसियन, एमडिजिपी र स्पेसलिष्ट । एमबिबिएस पास गरेको डाक्टरलाई मेडिकल अफिसर भनिन्छ । एमबिबिएस डाक्टरलाई मेडिसिन र सर्जरीका विषयमा आधारभूत ज्ञान हुन्छ । यस्ता डाक्टर सबै रोगको प्रारम्भिक उपचारमा सहभागी हुन मिल्छ । उनीहरु बिरामीको उपचार पछि अवस्था र आवश्यकताअनुसार विशेषज्ञ डाक्टरलाई रिफर गर्छन् । एमबिबिएस स्नातक डिग्री हो ।

एमबिबिएसपछि एमडि वा एमएस गरेको डाक्टरलाई कन्सल्टेन्ट भनिन्छ । एमडि भनेको डक्टर अफ मेडिसिन र एमएस भनेको मास्टर्स इन सर्जरी हो । यो स्नातकोत्तर डिग्री हो । यस्तै, मेडिसिन विषय लिएर एमडी गरेको डाक्टरलाई जनरल फिजिसियन भनिन्छ । जनरल फिजिसियनलाई शरीरका सम्पूर्ण अंगको मेडिकल समस्याका बारेमा ज्ञान हुन्छ । जटिल रोग लागेको छ भने जनरल फिजिसियनले बिरामीको रोग पहिचान गरी सामान्य उपचारपछि विशेषज्ञलाई रिफर गर्छन् । जस्तैः नसासम्बन्धी रोगमा न्युरो फिजिसियन, मिर्गौला रोगमा नेफ्रोलाजिष्ट तथा पिसाबसम्बन्धी समस्या भए युरोलोजीस्टलाई रिफर गर्दछन् ।

कुनै एक रोगका बारेमा अध्ययन गरेको डाक्टरलाई विशेषज्ञ भनिन्छ । सामान्यतय भन्नुपर्दा जनरल फिजिसियन वा जनरल सर्जनले कुनै एक रोग विशेषमा अध्ययन वा तालिम लिएमा त्यस्ता डाक्टरलाई विशेषज्ञ (स्पेशलिस्ट) भनिन्छ । हाल एमबिबिएसपश्चात् कुनै रोगमा सिधै विशेषज्ञ अध्ययन पनि गर्न सकिने व्यवस्था छ ।
एमडि वा एमएसपश्चात् कुनै एक रोगको विषयमा डिएम वा एमसिएच गरेको डाक्टरलाई सुपरस्पेसियालिटी भनिन्छ । यो पिएचडि डिग्री हो । यो विषय अध्ययन गर्ने डाक्टरहरुले कुनै एक रोगको तीन वर्षसम्म सघन अध्ययन, अनुसन्धान र उपचारमा संलग्न भएका हुन्छन् । यो डिग्री मेडिकल विषयमा हुने सबैभन्दा विशिष्ट अध्ययन हो । डिएम गरेका डाक्टरलाई कुनै एक रोगको सुपरस्पेसियालिटी फिजिसियन र एमसिएच गरेमा सुपस्पेसियालिटी सर्जन भनिन्छ । एमडि वा एसएस गरेका विशेषज्ञ डाक्टरले डिएम वा एमसिएच गरेका डाक्टरलाई रिफर गर्छन । डाक्टरी विषयमा गरिने अर्को डिग्री एमडिजिपी हो । यस्ता विषय पढेका डाक्टरलाई पारिवारिक फिजिसियन पनि भन्ने गरिन्छ । यो डिग्री लिएका डाक्टरलाई मेडिसिन र सर्जरी दुबै विषयको ज्ञान हुन्छ । प्रायः अस्पतालका इमर्जेन्सी विभागमा एमडिजिपी हुने गर्छन् । यो स्नातकोत्तर डिग्री हो ।

कुन समस्यामा कस्ता डाक्टरलाई देखाउने ?

न्युरोलोजिष्ट
मष्तिस्क र नसासम्बन्धी अध्ययन गरेका डाक्टरलाई न्युरोलोजिष्ट भनिन्छ । टाउको दुख्ने, माइग्रेन, नसासम्बन्धी समस्या, छारे रोग, रिंगटा लाग्ने, हिड्न गा¥हो हुने, बेहोस हुने र अन्य  मष्तिस्क र नसासम्बन्धी समस्या भएमा न्युरोलोजिष्टलाई देखाउनु पर्छ ।
नेफ्रोलोजिष्ट
मिर्गौलासम्बन्धी अध्ययन गरेका डाक्टरलाई नेफ्रोलोजिष्ट भनिन्छ । पिसाब गडबडी भएमा, पिसाबमा रगत आएमा, मिर्गौला प्रत्यारोपणसम्बन्धी जाँच र उपचार गर्नुपरेमा नेफ्रोलोजिष्टलाई देखाउनुपर्छ ।
पल्मोनोलोजिष्ट
फोक्सो रोगसम्बन्धी अध्ययन गरेका डाक्टरलाई पल्मोनोलोजिष्ट भनिन्छ । स्वाँस्वाँ हुने, फोक्सोको संक्रमण, घुर्ने, दम, सिओपिडिजस्ता समस्या भएकाले पल्मोनोलोजिष्टलाई देखाउनुपर्छ ।
इन्डोक्राइनोलोजिष्ट
हर्मोन र मेटाबोलिजमसम्बन्धी अध्ययन गरेका डाक्टरलाई इन्डोक्राइनोलोजिष्ट भनिन्छ । मधुमेह, थाइराइड र अन्य हर्मोन गडबडीले लागेका रोगमा इन्डोक्राइनोलोजिष्टलाई देखाउनुपर्छ । इन्डोक्राइनोलोजिष्टमा डिएम गरेका डाक्टर नेपालमा एकजना मात्र छन् ।
रिउयुमेटोलोजिष्ट
बाथरोगसम्बन्धी अध्ययन गरेका डाक्टरलाई रिउमेटोलोजिष्ट भनिन्छ । नेपालमा ३ जनामात्र इन्डोक्राइनोलोजिष्ट रहेको जानकारहरुले बताएका छन् ।
युरोलोजिष्ट
मुत्रनली र पिसाबसम्बन्धी अध्ययन गरेका डाक्टरलाई युरोलोजिष्ट भनिन्छ । प्रोस्टेट, मुत्रथैलीमा पत्थरीलगायत पिसाबमा गडबडी भएमा युरोलोजिष्टलाई देखाउनुपर्छ ।

यसैगरी हाडको समस्या भएमा अर्थोपेडिक्स तथा मुटुसम्बन्धी समस्या भएमा कार्डियोलोजिस्टलाई देखाउनुपर्छ । नेपालमा आँखा, दाँत, क्यान्सर, मधुमेहलगायत सबै प्रकारका रोगका विशेषज्ञ डाक्टर उपलब्ध छन् ।

ध्यान दिनुपर्ने

रोगको लक्षणका आधारमा आफैले विशेषज्ञ डाक्टर खोज्नुभन्दा फिजिसियनको सल्लाहअनुसार जानु उपयुक्त हुन्छ । फरक–फरक रोगमा पनि एकै प्रकारको लक्षण देखिन सक्छ । डाक्टरलाई आफ्ना समस्या खुलेर बताउनुपर्छ । समस्या लुकाएमा वा भन्न नसक्दा सही उपचार नहुन सक्छ । डाक्टरलाई देखाउन जानुअघि आफ्ना समस्या लेखेर लाँदा राम्रो हुन्छ । डाक्टरलाई देखाएपछि औषधिका बारेमा पनि राम्रोसंग बुझ्नु पर्छ । सबै औषधि सबै ठाउँमा उपलब्ध नहुने भएकाले सो जिज्ञासा पनि डाक्टरलाई भन्नुपर्छ । औषधिले निको नभएमा डाक्टर फेर्नुभन्दा पुनः सोही डाक्टरलाई भेटि समस्या बताउनुपर्छ । डाक्टरको सल्लाहविना औषधि छाड्ने, मात्रा घटबढ गर्ने, सुरु गर्ने गर्नु हँुदैन । अरुको लहलहैमा लागेर डाक्टरकहाँ जानुभन्दा सही डाक्टर पहिचान गरी जानुपर्छ । डाक्टरलाई भेट्न जाँदा आफ्ना पुराना समस्या खुलेर बताउनु पर्छ र पुराना पर्चा पनि लिएर जानुपर्छ । डाक्टरलाई आफ्नो बारेमा सही जानकारी नदिँदा ज्यानै जान सक्ने पनि हुनसक्छ ।

- डा. ओम मूर्ति अनिलको म पनि डाक्टर पुस्तकबाट


,

news and entertainment