दक्षिण कोरियाको इचोन सहरमा जारी १७औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषतर्फको सफ्ट टेनिसमा नेपाल विजयी भएको छ ।
आज भएको समूह चरणको खेलमा नेपालका मनोज सुब्बा ताजकिस्तानका नेग्माटुलियो राजाबलिभलाई ४–० ले पराजित गर्दै विजयी भएका हुन । बेस्ट अफ सेभेनको खेलमा सुब्बाले ४–०, ४–२, ५–३ र ४–२ ले पराजित गर्दै जित आफ्नो पोल्टामा पारेका हुन् । त्यस्तै, आजै भएको अर्को खेलमा भने सुब्बा जापानसँग ४–० ले पराजित हुन पुगे ।
हिजो भएको खेलमा उनले कम्बोडियालाई ४–३ ले हराएका थिए भने आयोजक कोरिया र चाइनिज ताइपेईसँग समान ४–० को हार बेहोरे । पुरुषतर्फकै समूह ‘सी’को खेलमा कमलबहादुर भण्डारी चीन र फिलिपिन्ससँग समान ४–० ले पराजित भएका छन् । सोही स्पर्धाअन्तर्गत महिलातर्फको खेलमा नेपाली खेलाडी पराजित भएका छन् ।
नेपालकी एलिना रञ्जित फिलिपिन्सकी खेलाडीसँग ४–० ले र निरु कायस्थ भियतनामसँग ४–२ ले पराजित भएकी हुन् ।
एसियाड सफ्ट टेनिसमा नेपाल विजयी
news and entertainment
