मोर्चाले बुझायो सरकारलाई हतियार
अखिल तराई मुक्ति मोर्चा (पूथ्वी समूह)का संयोजक महराज यादवले आफनो समूहसँग रहेको हतियार सरकारलाई बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्सामा बिहीबार एक समारोहबीच समूहका संयोजक यादवले सरकारी वार्ता टोली उपसमितिका संयोजक आन्नदप्रसाद ढुङ्गानालाई हतियार बुझाएका हु्न ।
मोर्चाले सरकारलाई नलकटुवा पेस्तोल १९ थान, १२ बोरको एक नाले बन्दुक एक थान, सानो र ठूलो गरी बम ५१ थान, थ्रिनट थ्रिको गोली ३५ थान, १२ बोरको गोली १५ थान बुझाएको पर्साका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले जानकारी दिए ।
मोर्चाले बुझाएको हतियार बुझ्दै वार्ता टोली संयोजक ढुङ्गानाले वर्तमान कानुनमा परिवर्तन र संशोधन गरी भुमिगत समूहसँग गरेको सहमति पूरा गर्न सरकारलाई आग्रह गर्ने बताए ।
नेपाल सरकारसँग भएको वार्तामा भएका सहमतिअनुसार मोर्चासँग रहेका हतियार बुझाई शान्तिपूर्ण राजनीतिको माध्यमले सङ्गठन चलाउने मोर्चा संयोजक यादवले बताए ।
