प्रचण्ड भक्कानिएपछि सहभागीमा चल्यो रुवावासी


‘पार्टी एकताका लागी पोष्टबहादुरले मृत्यु रोजे’

  ‘पार्टीमा जब झगडा र ठूल्ठूला संकटहरु आउँथे त्यतिखेर पोष्टबहादुरले नै समाधान गर्नुहुन्थ्यो, गुट र विवाद देखा पर्दा बोगटी अचुक ओखती नै हुनुहुन्थ्यो । मुलुक, पार्टी र क्रान्ति अहिले संकटमा त परिरहेको त छ नै, उहाँजस्तो नैतिकवान मान्छेको संकट पनि हामीले भोग्नुपर्दाको पीडा असह्य छ…….।’ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसो भन्दाभन्दै भक्कानिएपछि बोगटीको मृत्युले शोकाकुल तुप्चेवासीमा रुवावासी नै चल्यो ।
बोगटीको जन्मथलो नुवाकोटको तुप्चे गाविसस्थित भित्रिनीटारमा आयोजित १३ औं दिनको श्रद्धाञ्जली सभामा बोल्ने क्रममा माओवादीका नेता, कार्यकर्ता र गाउँलेहरु रोएका थिए । अधिकांश वक्ताहरु पिडा थाम्न नसकेर रुँदै बोलेका थिए । ‘हरेक मान्छेका भरोसा बोगटीको अभावले हामी टुहुरो भयौं, मुर्छित छौँ,’ महिना नेतृ सुभद्रा नेपाललले आफ्नो कार्यक्रम सञ्चालन गर्दै सो अवधिभर भककानिँदै आँशु बगाइरहिन् । जब प्रचण्डले बोल्दाबोल्दै भक्कानिए, त्यसपछि सहभागीहरुमा पनि एकाएक रुने क्रम बढ्यो । फेरी सम्हालिँदै सबैलाई सान्त्वना दिँदै प्रचण्डले बोगटीको मृत्युले दुःखी बनाए पनि त्यो मृत्यु महान् भएकोमा गर्व गर्न आग्रह गर्दै भने, ‘बोगटीको अभावलाई म कमी हुन दिन्न, बरु उहाँको असल गुणबाट उहाँजस्तै बन्न सिक्नुपर्छ ।’ जस्तै पार्टीभित्र देखिएको विवादबीच बोगटीले दिएको एकताको सन्देशलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताए । ‘उहाँको बलिदान पार्टी एकताका लागी थियो भन्ने बुझाई हामी सबैमा अहिले भएको छ, प्रचण्डले भने, ‘हामी बिग्रन लागेकोमा बोगटीको मृत्युले सच्चिन गरेको खबरदारी हो ।’ बोगटी सबै नेताकाबीच समन्वयकारी भूमिका खेल्ने सर्वमान्य पात्र र अभिभावक भएको स्मरण गर्दै उनले भने ‘हामी पोष्टबहादुर बोगटीसँग डराउँथ्यौं पनि, किनकी उहाँ निकलंक र स्वच्छ मान्छे हुनुहुन्थ्यो । हामीले गल्ती गर्दा उनी कतै रिसाउँछन् की भन्ने लाग्थ्यो ।’ राजनीतिक जीवनमा आफुहरुमा धेरै समस्याका बीच पारिवारिक सम्बन्धमा पनि समस्या आउँदा बोगटीसँगको सम्बन्ध कहिल्यै नबिग्रिएको दाहालको भनाई थियो । ‘यसको मतलब मैले भनेको सबै मान्ने मान्छे बोगटी हो भन्न खोजेको होइन । उस्तै परे म, बाबुराम, नारायणकाजी सबैलाई ठोक्नुहुन्थ्यो, झपार्नुहुन्थ्यो, किनी उहाँसँग त्यो नैतिक बल थियो ।’
यसैगरी, सभामा बोल्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बोगटीको अभाव आफुलाई खड्किएको बताए । ‘मलाई, बाबुराम र अध्यक्षलाई मिलाउनका लागि उहाँकोे भूमिका महत्वपूर्ण थियो, श्रेष्ठले भने – ‘मिलाउने प्रयासमा लाग्दालाग्दै अचानक भएको मृत्युले सिंगो राष्ट्र दुखी भएको छ । उहाँको मृत्युले पार्टीलाई एक ढिक्का बनाउने सन्देश समेत दिएको छ ।’ उनले सर्वहारा वर्गको मुक्तिका निम्ति क्रान्तिकै मोर्चाबाट मृत्युवरण गरेको भन्दै बोगटीजस्तो असाधारण नेताको सपनालाई पुरा गर्न आफुहरु एकढिक्का हुने प्रतिवद्धता जनाए । श्रेष्ठले भने–‘उहाँको मृतयुसँग खेलवाड गर्ने छैनौं, हामी मिल्ने मात्र छैनौं बरु क्रान्तिकारी सबै शक्तिलाई एउटै केन्द्रमा ल्याउने संकल्प गरेका छौं ।’
बोगटीको नाममा प्रतिष्ठान स्थापना गर्ने घोषणा
प्रचण्डले बोगटीले थालेका अधूरा काम पूरा गर्नका लागि ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’को स्थापना गरी सोही संस्थामार्फत सामाजिक विकास, मानवीय सेवा र विकासका अपूरा कामको थालनी हुने घोषणा गरेका छन् ।
कार्यक्रममा बोगटी परिवारको तर्फबाट ‘बोगटी सक्रिय पत्रकारिता पुरस्कार’को घोषणा पनि गरिएको छ । बोगटीका जेठा ज्वाई निर्मल आचार्यले नेपाल पत्रकार महासंघको समन्वयमा परिवारले अक्षयकोषको स्थापना गर्न लागेको बताए । बोगटीले दिएको जग्गामा निर्माण भएको चण्डेश्वरी बहुमुखी क्याम्पसको पहलमा क्याम्पस हाताभित्र बोगटीको शालिक निर्माणको थालनी गरिने व्यवस्थापन समितिका अध्यक्ष सन्तोष रिजालले जानकारी दिए । बोगटीका धर्मपत्नी राममाया बोगटीको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा बोगटीप्रति श्रद्धाञ्जली व्यक्त गर्न ठूलो संख्यामा सर्वसाधारण र एमाओवादी कार्यकर्ता कार्यक्रम स्थलमा पुगेका थिए ।

,

news and entertainment