गलत काम गर्नेको भविष्य विगार्छु: रमेश खरेल
सामुदायिक सेवा केन्द्र रत्ननगरले हालै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी, मध्यक्षेत्र प्रहरी तालिम केन्द्र भरतपुरका समादेशकलाई आज स्वागत गर्दै शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । रत्ननगर नगरपालिकामा आयोजित कार्यक्रममा केन्द्रले प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विके, मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्रका समादेशक वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेललाई स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी डा. विकेले जिल्लामा शान्ती, सुरक्षा र समान न्यायका लागी समन्वय गरेर अगाडी बढ्ने बताउनुभयो । गुण्डागर्दी नियन्त्रण,शान्ती सुरक्षाको अनुभुती गराउन सुरक्षा निकाय र जनतासंग समन्वय गरी अघि बढ्ने भन्दै उहाँले कामको मुल्यांकन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मध्यक्षेत्र प्रहरी तालिम केन्द्र भरतपुरका समादेशक वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेलले गलत काम गर्ने कुनै पनि प्रहरीको भविष्य विगार्ने चेतावनी दिनुभयो । आफु कारवाही गर्ने निकायमा नरहे पनि गलत काम गर्ने जो सुकैको भविष्यमा बाधक बन्ने खरेलले बताउनुभयो । प्रहरीले जनतासंग समन्वय गरी अगाडी बढ्नु पर्नेमा जोड दिदै समादेशक खरेलले जनताका लागी काम गर्न नसके जागिर छोड्न आग्रह गर्नुभयो ।
अनुसन्धान चितवनका प्रमुख एसपी माधव तिमिल्सीनाले सुरक्षाको चुनौती समाजबाटै सुरु हुने भएकाले समाधान पनि समाजबाटै हुनु पर्ने औल्याउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति रुपनराज घिमिरेले पछिल्लो समय मुस्कान सहितको प्रहरी सेवा जनताले अनुभुती गर्न नपाएको बताउनुभयो । नेकपा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाडीले इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरीको बोल्ने शैलीमा सुधारको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद पाण्डे, एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य राजु अम्गाई, क्षेत्रिय होटल संघ सौराहाका उपाध्यक्ष भेषराज दवाडीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । केन्द्रका अध्यक्ष भुपेन्द्र अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष महादेवी खतिवडाले स्वागत मन्तवय राख्नु भएको थियो । सो अवसरमा थारु समुदायले निर्माण गरेको शुभ चिन्हको प्रतिक मौनी प्रमुख जिल्ला अधिकारी र एसएसपीलाई सम्झनाको चिनोको रुपमा प्रदान गरिएको थियो ।
