यो अन्तिम अवसर हो : प्रधानमन्त्री कोइराला




प्रधानमन्त्री सुशील कोइरालाले मुलुकलाई शान्ति ,स्थायित्व, लोकतान्त्रिक संविधान र विकास दिनका लागि अहिले अन्तिम अवसर प्राप्त भएको बताएका छन ।

प्रधानमन्त्री कोइरालाले इजरायल सहित यूूरोप क्षेत्रमा कार्यरत नेपाली राजदूत र कुटनीतिक नियोक प्रमुखहरुको भेलालाई सोमबार साँझ ब्रसेल्समा संबोधन गर्दा सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री कोइरालाले भन्नुभयो, यो अन्तिम अवसर हो । अब द्धन्द्ध भए मुलुकले धान्न सक्दैन ।

प्रधानमन्त्री कोइरालाले संविधान आउने कुरामा ढुक्क हुुन आग्रह गर्दै भन्नु भयो, संविधान आउछ आउछ । उहाँले द्धन्द्ध र विवाद समाधानमा नेपालले मौलिक अनुभव र उपलब्धि हासिल गरेको बताउदै भन्नुभयो,शान्ति प्रकृया टुंगिन्छ भनेर कसैले विश्वास गरेको थिएन ।त्यस्तो संवेदनशील र जटिल विषय वार्ता सहमति,सहकार्य, एकता र मेलमिलापबाट टुंगियो । हतियारको व्यवस्थापन भयो । लडाकुहरुको व्यस्थापन भयो । सत्यनिरुपण र वेपत्ता छानवीन आयोग गठनको प्रकृयामा छ । उहाँले नेपालको लामो राजनीतिक संक्रमणको अन्त्य हुने बताउदै भन्नुभयो, मैले नेपालको भविष्य उज्ज्वल देखेको छु ।

उहाँले संविधान निर्माणका बिषयमा संविधानसभाका समितिहरुमा सहमतिका लागि छलफल भैरहेको बताउदै भन्नुभयो, उच्च स्तरमा सहमति कायम गरेर टुंगोमा पुर्याउने कुरा भएको छ । भएन भने प्रकृयाबाट टुंगो लाग्छ । उहाँले सरकारको स्वरुपमा नियन्त्रण र सन्तुलनको व्यवस्थामा नगए फेरि अधिनायकबाद जन्मिने र अर्को पुस्ताले प्रजातन्त्रकै लागि लड्नु पर्ने अवस्था आउन सक्ने जोखिम औल्याउदै भन्नुभयो, लोकतन्त्रको लागि ६० बर्ष हण्डर खाइसके पछि फेरि त्यहि हुन्छ किन भन्ने ? सकारात्मक कुरा हेरौ । विवाद रहीरहे प्रकृया जाऔं । प्रदेशको संख्या मुलुकले धान्न सक्ने बनाऔ । नामाकरणमा केन्द्रमा विवाद नगरौं संबन्धित प्रदेशलाई नै दिऔं।

प्रधानमन्त्री कोइरालाले पार्टीहरु झगडा गरेर पनि सहमतिमा पुगेका दृष्टान्त प्रस्तुत गर्दै संविधान आए पछि विकासको ढोका खुल्ने बताउनु भयो । उहाँले विदेशमा रहनुूभएका राजदूतहरुलाई संबन्धित मुलुकका लगानीकर्तालाई नेपालमा लगानी गर्न आमन्त्रण गर्न पनि आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, विदेशी लगानीकर्तालाई कसरी आश्वस्त पार्ने ? कसरी लगानी ल्याउने हो त्यसका निम्ति काम गर्नुस ।

दोस्रो संविधानसभाको निर्वाचन पछि मुलुकले संवैधानिक र राजनीतिक निकास पाएर शान्ति र राजनीतिक स्थिरता कायम हुदै आएको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले हालै भारतसंग सम्पन्न विद्युत व्यापार संझौता र माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणकोलागि लगानी बोर्डले भारतको जीएमआर कम्पनीसंग गरेको आयोजना विकास संझौताले जलविद्युत क्षेत्रमा लगानी गर्नेका लागि विश्वसनीय आधार सिर्जना गरेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, मुलुकमा लगानी र विकासको वातावरण खुला भएको छ ।

यूरोप क्षेत्रमा काम गर्ने तपाइँहरुको देशमा लगानी ल्याउन ठूलो भूमिका हुन्छ । चिन जस्तो मुुुलुकले यूरोप र अमेरिकाको लगानी भित्र्याएर आफ्नो मुलुकलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा विकसित गरेको छ । विकासको लागी पीपीपी,बीओटी,बीओओटी जस्ता कुनै पनि मोडल अपनाउन सकिन्छ । नेपाल विकासको लागि भर्जिन ल्याण्ड हो । जलविद्युत,सडक, एअरपोर्ट,होटल रेष्टुरा कृषि, उद्योग, जहाँ लगानी गर्न चाहान्छन, लगानी कर्ता ल्याउनु होला । लगानीको वातावरणको ग्यारेन्टी हुदैछ ।उहाँले नेपाल नयाँ बातावरणमा प्रवेश गरेको बताउनुभयो । उहाँले भन्नुभयो, धेरैबर्षपछि मुलुक एउटा उज्यालो र सकारात्मक बाटोमा गएको छ ।

प्रधानमन्त्री कोइरालाले मुुलुकमा सुशासन कायम गर्न सरकारले जोड दिएको पनि बताउनु भयो । उहाँले पारदर्शिता,उत्तरदायित्व,छिटोछरितो, भ्रष्ट््रचारमुक्त सदाचार युक्त, मितव्ययी र सक्षम प्रशासन मार्फत सुशासन दिन सरकार अग्रसर भएको बताउदै भन्नुभयो, भ्रष्टाचार गर्ने २।४ जनालाई नसियत नभएसम्म मुलुकमा सुशासन हुने विश्वास हुदैन ।

प्रधानमन्त्री कोइरालाले अहिले भारत चीन सहित यूरोपेली मुलुकहरुले नेपालमा शान्ति,स्थिरता, लोकतन्त्रको संस्थागत विकास, लोकतान्त्रिक संविधान र विकासको निम्ति चिन्ता व्यक्त गरेको बताउदै भन्नुभयो, देश भित्रका सबै राजनीतिक दल र नेपालका मित्र राष्ट्र्हरुको सबैको चिन्ता भएपछि मुलुकले संविधान नपाउने कुरा छैन, मुलुकले संविधान पाउछ । उहाँले संविधान निर्माणमा सरकार र संविधानसभा अधिक लचक रहेको जानकारी दिदै संविधानसभा बाहिर रहेका दलहरुको विचारलाई समेत समेट्नकालागि सरकारले सर्वपक्षीय राजनीतिक सभा आयोजना गरेको तर त्यसको माग गर्ने र तयारी समितिमा रहेको नेकपा — माओवादी अनुपस्थित भएको यथार्थ पनि राजदूतहरुलाई वताउनु भयो ।

उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गर्नुभएको नेपाल भ्रमणले द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थपेको र नेपालीहरुमा भारतप्रति रहेको संशय हटाउन सफल रहेको पनि उल्लेख गर्नु भयो ।भारत र चीन दुवै देशका नेताहरुले उनीहरुले गरेको आर्थिक विकासबाट फाइदा लिन आफूलाई आग्रह गरेको पनि उहाँले बताउनु भयो ।

प्रधानमन्त्री कोइरालाले मुलुकमा अवसर नपाएर ३५ देखि ४० लाख नेपालीहरु कामकालागि विदेशिन परेको यथार्थलाई ध्यानमा राखी मुलुकमा लगानी भित्र्याउन सशक्त ढंगले काम गर्न राजदूतहरुलाई निर्देशन पनि दिनु भएको थियो ।

यस अगाडि यूरोप क्षेत्र र इजराइलमा कार्यरत नेपाली राजदूत र विभिन्न नियोगका प्रमुखहरुले आफ्ना क्षेत्रमा भएका गतिविधि र समस्याका बारेमा प्रधानमन्त्रीलाई अवगत गराउनु भएको थियो ।
राजदूतहरुसंगको जानकारी लिने कार्यक्रममा कामु परराष्ट्र्सचिव शंकरदास बैरागीले पनि संबोधन गर्नुभएको थियो ।

, ,

news and entertainment