जमाना कहाँबाट कहाँ पुगिसक्यो तर हामी भने अझै जहाँको त्यही नै छौँ । २१ औँ शताब्दीमा आइपुग्दा पनि अझै धामी झाँक्रीको विश्वासमा समाज अडेको छ भन्ने यो पछिल्लो घटनाबाट पुष्टि भएको छ ।
मोरङ्गको डाँगिहाट ४ की एक महिला आफनो रोग निको होस् भन्दै स्थानीय धामीकहाँ पुगिन् तर त्यहाँ उनको रोग निको हुनको सट्टा उल्टै इज्जत नै गुमाउनुपर्यो ।
बिवाह गरेको ५ वर्ष बितिसक्दा पनि निःसन्तान भएपछि सन्तान प्राप्तीका लागि झारफुक गर्न स्थानीय झाँक्री धनबहादुर श्रेष्ठकहाँ पुगेकी डाँगिहाटकी एक महिलालाई जुस खान दिएर बेहोस बनाई सो धामी श्रेष्ठले बलात्कार गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
झारफुक गरी सकेपछि धामीले टुनामुना लगाई दिएको फलफुल तथा जुस पिएपछि बेहोस बनेको र होसमा आउँदा आफ्नो इज्जत लुटिएको पत्तो पाएको पिडित महिलाले बताइन् ।
आफ्नो इज्जत गुमेको पत्तो पाए लगत्तै पिडित महिलाले श्रीमानको सल्लाहमा स्थानीय झाँक्री धनबहादुर श्रेष्ठ बिरुद्ध बेलवारी प्रहरीमा उजुरी दर्ता गराइसकेकी छिन् ।
महिलाको उजुरीको आधारमा पक्राउ परेका मोरङ्ग डाँगिहाटका झाक्री धनबहादुर श्रेष्ठले घटनाको विषयमा केही बोल्न चाहेनन् ।
यता पक्राउ परेका झाँक्रीको विषयमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक दुर्गा दाहालले बताए ।
www.ratopati.com
निःसन्तान भएपछि धामीमाथी भर; बेहोस बनाई बलात्कार हुन पुगिन्
news and entertainment