आँखा फुटाउन खोजेपछि गोली चलाएको हो : गृहमन्त्री

 गृहमन्त्री वामदेव गौतमले सरकारले बाराको हरिहरपुरमा प्रहरी र स्थानीयबासीबीच भएको झडपका क्रममा चलेको गोलीकाण्डबारे छानविन गर्ने प्रतिबद्धता जनाएका छन् ।

व्यवस्थापिका संसदको आइतबारको बैठकमा हरिहरपुर घटनाबारे जानकारी गराउँदै उपप्रधान एवं गृहमन्त्री गौतमले घटनाको सत्य तथ्य छानविन गर्ने समेत प्रतिबद्धता जनाएका हुन् ।
सडक निर्माणको माग राखी प्रदर्शन गर्ने क्रममा स्थानीयबासीले सशस्त्र प्रहरीको गाडीमा तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले अश्रु ग्यास र हवाई फायर गर्दा स्थानीय जयानारायण यादवको मृत्यु भएको थियो ।
उपप्रधानमन्त्री गौतमले छानवीन समितिले दिएको प्रतिवेदन संसदमा पेश गर्ने र प्रतिवेदनका आधारमा मृतकका परिवारलाई राहत र क्षतिपूर्ती दिलाउने समेत प्रतिबद्धता जनाए ।
बाटो निर्माण गर्ने क्रममा गोलागञ्ज नहरचोकमा दुईवटा ट्रिपर लगिएकोमा १०–१५ वटा ट्रिपरको माग राखी स्थानीयबासीले प्रदर्शन गरेपछि ५ जनालाई नियन्त्रणमा लिइएको र यसलाई लिएर १ हजार भन्दा बढी स्थानीयले इलाका प्रहरी कार्यालय सिम्रौनगढमा तोडफोड गरेको गौतमले जानकारी गराए ।
सीमा सुरक्षा कार्यालय बरियापुरबाट आएको सशस्त्र प्रहरीको टोलीलाई प्रदर्शन गरिरहेका स्थानीयबासीले ढुङ्गामुढा गरेपछि प्रहरीले ३२ सेल अश्रुग्यास, दुई ग्याँस ग्रिनेट र १५ राउण्ड फायर गरेको गौतमले जानकारी दिए ।
अन्तिम अवस्थासम्म पनि गोली नचलाउन निर्देशन दिइएको भएपनि स्थानीयले प्रहरीमाथि नै आक्रमण गरेर आँखा फुटाउने र हात भाँच्ने प्रयास गरेपछि प्रहरीले बाध्य भएर गोली चलाएको भन्दै उपप्रधानमन्त्री गौतमले घटनालाई धेरै नचर्काउन आग्रह समेत गरे ।
यसअघि व्यवस्थापिका संसदको बैठक सुरु हुनेवित्तिकै विशेष समय लिएर बोल्दै सांसदहरुले बारामा भएको घटनाको बिरोध गरेका थिए । उनीहरुले विकास माग्ने जनतामाथि गोली प्रहार गर्नु सरकारको तानशाही प्रवृत्ती भएको बताएका थिए ।
सभासदहरुले संसदमा घटनाका बारेमा सरकारलाई प्रश्न उठाएपछि गृहमन्त्रीले जवाफ दिएका थिए ।

,

news and entertainment