अर्जुन कपुर र सोनाक्षी सिन्हा झन्झन् नजिक;बलिउड नगरी तातिरहेको
यी दुई पहिलोचोटि एउटै फिल्ममा लिड अपोजिटमा देखिँदै छन् । 'तेवर' को कथालाई दर्शकहरूले कस्तो मान्लान्, त्यो पछिको कुरा, अहिले नै भने त्यो फिल्मका नायक-नायिकाबीच सामान्य मित्रता मात्र नरहेको ठोकुवा गर्नेहरूको संख्या अचानक बढेको छ ।
अहिले प्रेममा रहेका भनिएका अर्जुन र सोनाक्षी यही फिल्मकै सुटिङमा आउन थालेपछि एकअर्कासँग मजाले बोल्न थालेका हुन् । यसअघि त्यस्तो घनिष्ठता थिएन । केही महिनायता उनीहरू छिमेकी मात्रै बनेका छैनन्, छुट्टीको समय पनि साथै बिताउन थालेका छन् ।
हालै उनीहरू टर्कीको राजधानी इस्तानबुलमा भेटिएका थिए । मुम्बईमा एउटा फिल्मको पि्रमियरमा पनि उनीहरू साथै पुगेका थिए । यस्तो भएपछि धूवाँ उड्नु स्वाभाविकै हो ।
अर्जुन र सोनाक्षीको निकटताबारे मिडियामा खबरहरू छाउन थालेपछि दुवैका परिवार र साथीभाइ पनि चनाखो भएका छन् । पहिलो फिल्मबाटै दर्शकमाझ दर्बिलो उपस्थिति जनाएका यी दुवै यसअघिसम्म कसैसँग त्यस्तो रिलेसनसिपमा थिएनन् । अहिले साँच्चै डेटिङमा रहेका भए दुई सिंगल आत्मालाई चैन नै मिल्यो ।

