आइएस विद्रोहीहरुविरुद्ध टर्की एक्लैले स्थलगत सैनिक कारबाही नगर्ने

 टर्कीका विदेशमन्त्री मेभलुत क्याभुसोग्लु सिरियामा इस्लामिक स्टेट (आइएस) विद्रोहीहरुविरुद्ध टर्की एक्लैले स्थलगत सैनिक कारबाही नगर्ने स्पष्ट पारेका छन् । त्यस्तो अपेक्षा अव्यवहारिक हुने उनको भनाइ छ ।


सिरियाली सहर कोबानीमा विद्रोहीहरुको कडा हमलामा परेका कुर्दहरुलाई सहयोग गर्न टर्कीले कदम नचालेको भनी आलोचना भएपछि क्याभुसोग्लुको यस्तो प्रतिक्रिया आएको छ ।

राजधानी अंकारामा उत्तर एटलान्टिक सन्धी संगठनका नवनियुक्त महासचिव जेन्स स्टोल्टेनबर्गसँगको छलफलपछि मन्त्री क्याभुसोग्लुले टर्कीको सिरियासँग जोडिएको सीमा क्षेत्रमा उडान निषेधित क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड दिए ।

उनले अमेरिकी नेतृत्वको गठबन्धनले स्थलगत सेना परिचालन गर्नुपर्ने र सिरियाका राष्ट्रपति असादलाई पदच्यूत गर्नुपर्ने  धारणा पनि राखेका छन् । रणनीतिक महत्वको सहर कोबानीलाई विद्रोहीहरुको हातमा पर्नबाट रोक्न थप कदम चाल्न टर्कीमाथि दबाब बढिरहेको छ ।

सो सहरमा हमला गरिरहेका विद्रोहीहरुलाई लक्षित गरी अमेरिकी नेतृत्वमा हवाई आक्रमणहरु जारी रहेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सो सहर विद्रोहीबाट जोगाउन भरसक कोसिस जारी रहेको बताएको छ ।

यद्यपि, अमेरिकी सेनाका वरिष्ठतम् अधिकृत ‘जोइन्ट चीफ्स अफ स्टाफ्स’का अध्यक्ष जेनरल मार्टन डेम्पसेले विद्रोहीहरुले हवाई हमलाबाट बच्ने उपायहरु सिक्न थालेको बताएका छन् । बुधबार विद्रोहीहरुले भारी आक्रमण गरेपनि अझैसम्म सहर कुर्द लडाकुहरुकै नियन्त्रणमा रहेको अमेरिकी सेनाले विश्वास गरेको छ । (एजेन्सी)
imagekhabar.com

,

news and entertainment