रिताका अनौठा फ्यान: हजुरबासम्मकाले राखे विवाह प्रस्ताव
'आऊ आऊ भाइबहिनी हो, रेडियो नजिक आऊ', यसरी प्रस्तुत हुन्थे, वासुदेव मुनाल, रेडियो नेपालमा। यस्तो सुन्दा रीता लिम्बूलाई लाग्थ्यो, आहा, रेडियोमा बोल्न पाए कस्तो हुन्थ्यो होला? पाण्डव सुनुवार र सूर्यकुमारी पन्तका स्वरको मोहनी पनि उत्पातै थियो उनमा। आफ्ना ब्रिटिस आर्मी बाबुका साथ हङकङमा रहँदा पनि बीएफबीएस रेडियोसँग उनी परिचित थिइन्।
उनको स्नातक तहको पढाइ सकिँदै गर्दा फाट्टफुट्ट एफएम स्टेसनहरू खुल्न थाले। उनमा रेडियोमोह पनि कति साह्रो भयो भने उनलाई एउटै विज्ञापनमा स्वर दिन पाए पनि उनको लागि ठूलो उपलब्धि हुनेथियो। तर एउटै विज्ञापन त के, उनले हिट्स एफएममा 'संगीत सागर' कार्यक्रम सञ्चालन गर्ने अवसर पाइन्। 'यो अवसर मैले धनपाल गुरुङ र रविन शर्माबाट पाएकी हुँ', उनी सम्झन्छिन्। यो कुरा हो, आजभन्दा १८ वर्षअघिको।
...
उनको करिअरको सुरुआत थियो यो। त्यसबेला कार्यक्रम प्रस्तोताका रूपमा डियर कल्याण, प्रभात रिमाल र आशीष- प्रशान्त लोकप्रिय थिए। एफएममा उनी बोल्न त थालिन्, तर अनेक खालका प्रतिक्रिया आउन थाले, उनीसमक्ष। कसैले रुघाखोकी लागेकोजस्तो स्वर, कसैले भर्खरै सुतेर उठेको अवस्थाको जस्तो स्वर, कसैले रोएको जस्तो आवाज भनेर उनको स्वरको धज्जी उडाउन थाले। एकजनाले त चिठी पठाएर भने, 'बोल्नुअघि घाँटी सफा गरेर आउनू।' कसैले भने,'कार्यक्रमबाट निस्केर गइहाल्।'
रेडियो रीताको लागि एउटा तपस्या थियो र ठूलो अभिरुचिको क्षेत्र पनि। उनीसमक्ष तेर्सिएको नकारात्मक श्रोता प्रतिक्रियाले उनको मन सामान्यतया बिझाउने नै भयो। त्यतिखेरै उनीहरूलाई हिट्स एमएमका कार्यकारी निर्देशक शनि श्रेष्ठले सम्झाए,'तिमीहरू श्रोताका कुराले दु:खी पनि नहोऊ सुखी पनि नहोऊ ।'
शनिले यसरी के सम्झाएका थिए, ६ महिनापछि रीताको कार्यक्रममा प्रशंसाले थेगिनसक्नु सकारात्मक प्रतिक्रिया आयो। हाल उनी सम्बद्ध गोरखा एफएममा पेन्सिल आर्टको हाँसिरहेको उनको एउटा पोट्रेट छ, त्यो पनि उनको फ्यानले बनाएका हुन्। यस्तो उपहारको थुप्रो छ, उनीसँग। सम्भवत: नेपालमा रीतामात्रै त्यस्ती आरजे हुन्, जसका फ्यानहरू अनेक किसिमका देखा परे। ..
'अहिले पनि एउटी बहिनीले विराटनगरबाट फोन गरिरहन्छिन्', उनी भन्छिन्,'उनको मप्रतिको समर्पणले म छक्क परिरहेकी छु।'
रीताका अनुसार ती बहिनी उनलाई उनको आफ्नो परिवारका सदस्यहरूभन्दा बढी माया गर्छिन्। ती बहिनी भन्ने गर्छिन्,'दिदी म तपाईंसँगै जिन्दगी बिताउन तयार छु।' एक दिन फोनमा रीताले उनलाई भनिन्, 'मलाई एउटा केटाले मन पराउँछ।' त्यसपछि त ती बहिनी रोएर हैरान। फोनमा रुँदारुँदै रिचार्ज सकिएपछि फेरि रिचार्ज गरेर भन्न थालिन्,'तपाईं अरूसँग बिहे नगर्नुहोस्, म तपाईंलाई हेर्छु।'
एकजना हजुरबुवासरहको फ्यान देखा परे, रीताको जीवनमा। काठमाडौंका स्थानीय, मनोविज्ञानमा विद्यावारिधि गरेका। अचम्मका स्वभाव देखाए, रीतासमक्ष उनले। 'ती फ्यान साह्रै विद्धान थिए', उनी भन्छिन्,'मेरो मनोविज्ञान पनि सबै बताइदिन्थे, साह्रै क्रेजी।'
सुरुमा सातआठ पानाको चिठीहुँदै ३१ पानासम्म पुग्यो। हरेक चिठी रजिस्ट्री गरिएका हुन्थे। सुरुमा श्रोताका रूपमा, त्यसपछि फ्यानका रूपमा प्रस्तुत भए। त्यसपछि मायालुका रूपमा उनलाई सम्बोधन गर्न थाले भने पछि विवाह प्रस्ताव नै राखे। उनलाई पछि दिक्क लगाउन थालेपछि उनले चिठी पनि पढ्न छाडिन्। 'म त चिठी नपढी थन्क्याउँथेँ', उनी भन्छिन्,'साथीहरू चाहिँ पढेर मनोरञ्जन लिन्थे।' यस्तो चिठी हरेक साता आउँथ्यो।
ती फ्यानको शब्दमा रीताले रेडियोमा बोलेको कुरा सबै उनैका लागि बोलेको रे। हुँदाहुँदै एक दिन रीतालाई भेट्न ती व्यक्ति आए। 'नमस्कार म ...', उनले भने। 'त्यसपछि त उसले मलाई झन् मन परायो', रीता भन्छिन्, 'मलाई चाहिँ असाध्यै डर लाग्यो।' दोस्रो पटक पनि उनलाई भेट्न आए उनी, तर उनी एकोहोरो होलान्, गाह्रो होला भनेर रीता बोलिनन्।
हदै भएपछि रीताले ती फ्यानले आफूसँग भेट्न नपाओस् भनेर सुरक्षागार्डलाई सतर्क गराइन्। 'एक दिन त मलाई गेटमा पर्खंदापर्खंदै बेहोस भएछन्', रीता भन्छिन्।
एक दिनको कुरा रीता, गोरखा एफएममा थिइन्, फोन आयो। फोन गर्ने व्यक्ति परिछिन्, तिनै क्रेजी फ्यानकी भान्जीबुहारी। उनी भान्जा र भान्जीबुहारीको घरमा बस्दा रहेछन्। रीतालाई भान्जीबुहारीले बताएअनुसार ती फ्यान रीताकै नाम लिएर बर्बराउने रहेछन्। बिरामी पनि भएछन्, खाना खान छाडेछन्। यो कुरा थाहा पाएपछि एउटा नाटकको रचना भयो, भान्जीबुहारी र रीताबीच। दुवैबीचको सल्लाहअनुसार रीताले ती फ्यानलाई फोन गरेर भनिन्,'मेरो त बिहे हुन लागेको छ, तपाईंले किन यस्तो गर्नुभएको?' त्यसपछि ती फ्यानले रिसाएर भने, 'यु गो टु हेल।' फोन पनि काटियो।
यो कुरा भान्जीबुहारीले पनि अर्को फोनबाट सुनिछिन्। 'भान्जीबुहारीले मलाई धन्यवाद दिइन्', उनी भन्छिन्,'त्यसपछि ती फ्यानसँग मेरो सम्पर्क छैन।' ..
रीताका अनेक फ्यानहरू देखिए। ७० वर्षनजिकका दुई दिदीबहिनी पनि उनको फ्यान। उनीहरू एकदिन उनी त्यसबेला कार्यरत इमेज एफएममा आए, अनि धप्लक्क अँगालो मारेर भने,'तिमीदेखि हामी यति खुसी छौं, तिम्रो कार्यक्रमले हामीमा जोस आएको छ, खुसी हुन सिकाएको छ।'
यस्तै एकजना प्रहरी अधिकृतकी श्रीमती पनि रहिछन्, उनको फ्यान। ती फ्यानले अन् एयरमै भनिदिइछन्,'यदि तपाईं मेरा श्रीमान्सँग विवाह गरेर आउनुहुन्छ भने म तपाईंलाई आरती बालेर स्वागत गर्नेछु।' 'मलाई त यस्तो सुन्दा साह्रै लाज लाग्यो', उनी भन्छिन्। पछि छोरा लिएर भेट्न आउँदा पनि ती महिलाले त्यहीँ कुरा दोहो:याइन्, सँगैको छोरा चाहिँ हाँसेको हास्यै।
यस्तै एकदिन उनलाई भेट्न भर्खरकी महिला इमेजमा आइन्। 'उनी आउनासाथ मलाई अँगालो मारेर हिक्का छाड्दै रुन लागिन्', रीता सम्झन्छिन्,'१० मिनेट जति रोइन्, सामान्य अवस्थामा फर्काउन गाह्रो भयो।' ती महिलाले भनिछिन्,'तपाईंलाई भेट्न इच्छा थियो, त्यो पूरा भयो, खुसीले रोएकी हुँ।'
एक दिन एकजोडी दम्पती आए उनलाई भेट्न। 'तपाईँ कस्तो हुनुहुँदोरहेछ भनी भेट्न आएका हौं', उनीहरूले भने। कुरा के परेछ भने जब उनी रेडियोमा बोल्न थाल्थिन्, उनीहरूका ६ वर्षीया छोरी नाच्न थाल्दिरहिछिन्,'रीता आन्टी रीता आन्टी' भन्दै। ...
राम्रा अक्षरमात्रै होइन, राम्रो भाषासहितको एउटा चिठी आउँथ्यो, एउटा केटाको चित्र र 'सिक्स फिट टल' नामबाट। उनैले चिठीमा लेखे,'म अस्पतालको बेडमा रहँदा जब म तपाईंको कार्यक्रम सुन्थेँ, आमा भन्नुहुन्थ्यो,'यो केटी को हो, जब यो केटी बोल्न थाल्छे, तब तिम्रो अनुहार उज्यालो हुन्छ।' 'निक्कै बौद्धिक भाषामा प्रस्तुत हुने ती फ्यानसँग चाहिँ भेट्न मन थियो, त्यो भने पूरा भएन।'
उनलाई एकजना केटा र एकजना केटी छुट्टाछुट्टै रूपमा भेट्न आए र धन्यवाद दिए। रीताका अनुसार उनीहरू आत्महत्यासम्म पुग्न खोजेका रहेछन्। 'उनीहरू भन्थे, मेरो कार्यक्रम सुनेर उनीहरूले आत्महत्या नगरेको रे', उनी भन्छिन्। ...
किन यस्ता फ्यानहरू पाइन्, रीताले? उनकै शब्दमा उनको स्वर सुनेर उनीहरू फ्यान भएका होइन्, बरू उनले प्रस्तुत गर्ने विषयवस्तुका कारण यस्ता फ्यानहरू भेटिएका हुन्। 'म सकारात्मक कुरामा जोड दिन्छु, जीवनमा आशावादी हुनुपर्छ भन्ने मेरो मान्यता छ, म सांसारिकभन्दा पनि आध्यात्मिक र सादा जीवनमा जोड दिन्छु', उनले अन्नपूर्ण शैलीसँगको टुङ्ग्याउनी भेटमा भनिन्, 'सायद त्यसैले मेरा फ्यानहरू धेरै भएका हुन्।'
annapurnapost.com

