नेपाल आउन चाहन्छन् ओबामा


 अमेरिकी राष्ट्रपति बराक ओबामाले नेपाल आउने इच्छा व्यक्त गर्नुभएको छ ।
डेमोक्रेटिक पार्टीका स्थानीय नेता हरि शर्मासँगको भेटमा ओबामाले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको बताउनुभएको थियो । शर्माले ओबामालाई नेपाल भ्रमणका लागि आग्रह गर्नुभएको थियो ।

शर्मासँगै अमेरिकी राष्ट्रपति ओबाले एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष लोक तिवारीसँग पनि अमरिकामा रहेका नेपालीहरुका सन्दर्भमा कुराकानी गर्नुभएको थियो । ओबामाले डेमोक्रेटिक नेशनल कमिटीका सदस्यहरुलाई भेट्ने क्रममा डेमोक्रेटिक नेशनल कमिटीका सदस्य समेत रहेका तिवारीले अमेरिकामा नेपालीहरुको अवस्थाबारे जानकारी दिनुभएको हो । भेटमा तिवारीले अमेरिकामा झण्डै तीन लाखको हाराहारीमा नेपाली र नेपाली मुलका अमेरिकनहरु रहेको तथा अमेरिकामा नेपालीहरु ब्यापार व्यवसायतर्फ अगाडि बढिरहेको जानकारी दिनुभयो । तिवारीले अमेरिकामा रहेका अधिकांश नेपालीहरु डेमोक्रेटिक धारका रहेको बताउँदा ओबामाले खुशी व्यक्त गर्नुभएको थियो । तिवारीले आफूले अर्गानिक कृषि फर्म र रेष्टुरेण्ट समेत संचालन गरिरहेको बताउँदा ओबामाले ‘तपाई आफ्नो अर्गानिक फर्म र रेष्टुरेण्टमा आउनका लागि मलाई निम्ता दिन खोज्नुभएको हो ?’ भन्दै हाँसेर सोध्नुभएको थियो । जवाफमा तिवारीले ओबामालाई अर्गानिक फर्ममा आउन निम्ता दिनुभएको थियो । क्यापिटल हिल्टन होटलमा झण्डै डेढघण्टा भएको भेटवार्तामा सहभागी शर्मा र तिवारीले कुनै पनि देशमा अमेरिकाले राजदूत पठाउँदा सोही मुलको पठाउन सकेमा दुबै देशका लागि राम्रो हुने सुझाव समेत दिनुभएको थियो । उहाँहरुको सुझाव सकारात्मक रहेको भन्दै ओबामाले डायरीमा नै नोट गर्नुभएको थियो ।
डेमोक्रेटिक नेशनल कमिटीका अन्य दर्जन बढी अमेरिकन सदस्यहरु समेत सहभागी भेटवार्तामा इबोला, चाइल्ड ट्राफिकिङ, इमिग्रेशन रिफर्म, भारतका प्रधानमन्त्रीको आगमन लगायतका विषयमा समेत कुराकानी भएको थियो । भेटमा एनआरएन बरिष्ठ उपाध्यक्ष लोक तिवारीले ओबामा केयरको समेत प्रशंसा गर्नुभएको थियो ।
dainiknepal.com

,

news and entertainment