बिरुवा बिक्री गरेर वार्षिक ७ लाख आम्दानी



फलफूलका बिरुवा बिक्री गरेर खोटाङका एक कृषकले वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
याम्खा–५ का ५४ वर्षीय रामनिधि आचार्यले बाँझो रहेको १० रोपनी जग्गामा लगाएको विभिन्न प्रजातिका फलफूलका बिरुवा बिक्री गरेर वार्षिक रु सात लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएका हुन् । आफूले उत्पादन गरेको सुन्तला, अनार, कुरिलो, कागती, जुनार, निबुवा, अम्बा, लिचीलगायतका फलफूलका बिरुवा घरैबाट बिक्री हुने गरेको आचार्यले बताए । उनले भने, “सुरुमा त त्यति राम्रो अम्दानी भएन तर, अहिले आएर वार्षिक रु सात लाखभन्दा बढी अम्दानी हुने गरेको छ ।”

अन्य बालीभन्दा कम मिहिनेत र हावापानीले असर पनि नगर्ने भएकाले आफूले फलफूलको नर्सरी लगाएको उनले बताए । आचार्यका अनुसार नर्सरीमा उत्पादित फलफूलका बिरुवा प्रतिगोटा रु २० देखि रु ५० मा घरैबाट बिक्री हुने गरेको छ । पाँच वर्षअघिदेखि सुरु गरेको नर्सरीबाट उत्पादित बिरुवा जिल्ला कृषि विकास कार्यालय खोटाङ, विभिन्न  गाविस, छिमेकी जिल्ला भोजपुर र उदयपुरमा समेत बिक्री हुने गरेको आचार्यको भनाइ छ । धनकुटामा लिएको तालिमपछि आफ्नो नाङ्गो डाँडा फँडानी गरेर नर्सरी लगाएको आचार्यले बताए ।

पछिल्लो समय उहाँको कमाइ देखेर छिमेकीहरु पनि पुरानो खेती प्रणालीलाई छाडेर आधुनिक खेतीतर्फ लागेका छन् । उन भन्छन्, “जाँगर भए यहीँ कमाउन सकिन्छ, कमाउनकै लागि किन अर्काको देश जाने !” फलफूलको नर्सरीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँले थप पाँच रोपनी जग्गामा यसै वर्षबाट खेती गर्ने तयारी गरेका छन् । जिल्लाका कृषकबाट अत्यधिक माग आउन थालेपछि आफूले यसलाई बढाउने तयारी गरेको उनले बताए । जिल्लाका अगुवा कृषकका रुपमा पुरस्कृत भइसकेका उनले गाविसका नौवटै वडामा कृषक समूह गठन गरेर फलफूलको नर्सरी लगाउने तरिकाको बारेमा जानकारी दिइसकेका छन् ।

जिल्लामा आफ्नै लगानीबाट उल्लेख्य प्रगति गरेको भन्दै तीन छोरा र एक छोरीका बुबा आचार्यलाई जिल्ला कृषि विकास कार्यालयलगायत विभिन्न सङ्घसंस्थाले सम्मानसमेत गरिसकेका छन् ।

,

news and entertainment