यसकारण रहेछ, जति कन्यायो उति चिलाउने



सरीरका कुनै ठाउँमा चिलायो भने कन्याइन्छ र क कन्याउँदा सन्चो लाग्छ र चिल्चिलाहट कम भएको महसुस हुन्छ । तर कहिलेकाहीँ चिलाएको ठाउँमा जति कन्यायो चिल्चिलाहट उति बढ्दै गएको अनुभुति हुन्छ र मान्छेले अझै जोडसित कनाउन थाल्छ ।
वास्तवमा कन्याउँदा सुरुमा आनन्द भएजस्तो लागेपछि यसले चिल्चिलाहट झनै बढाउने वैज्ञानिक कारण पत्ता लागेको छ ।
वैज्ञानिकहरुले कन्याउँदा चिल्चिलाहट कम हुने नभै झनै बढ्ने तथ्य पत्ता लगाएका छन् ।
मुसामा गरिएको अध्ययन अनुसार कन्याएरै चिल्चिलाहट बढ्नुको मुख्य कारकतत्व भनेको सेरोटोनिन हर्मोन हो । जिउमा कन्याउँदा मस्तिष्कबाट यो हर्मोनको उत्सर्जन सुरु हुन्छ ।

यद्यपि यो प्रयोगलाई अहिलेसम्म मानिसमा भने गरिएको छैन तर शोधकर्ताहरुले भने यो अध्ययनबाट प्राप्त निष्कर्ष मानिसमा पनि लागु हुनसक्ने र यसबाट चिलाउने समस्या रोक्न मद्दत मिल्ने बताएका छन् ।
जिउ विभिन्न कारणले चिलाउन सक्छ, घाउघटिरा हुनु, संक्रमण हुनु, केहीले चिल्नु, छोटो कपाल आयदि । चिल्चिलाहट पैदा भएसँगै त्यसलाई साम्य पार्न कनाइन्छ र त्यसो गर्दा पीडा पैदा हुन्छ । यसबाट स्नायु मार्फत चिल्चिलाहटको संकेतका साथै पीडाको संकेत समेत प्रवाहित हुन्छ । यसरी चिल्चिलाहटबाट पैदा हुने पीडालाई नियन्त्रण गर्नका लागि मस्तिष्कले सेरोटोनिन हर्मोनको उत्सर्जन गर्दछ । सेरोटोनिन हर्मोनले पीडा कम गर्ने मात्र नभै चिल्चिलाहटलाई झनै बढाउने काम गर्छ ।

वाशिंटन विश्वविद्यालयका निर्देशक प्राध्यापक जोउ फेंग चेनका अनुसार सुसुम्नामा पुगेपछि सेरोटोनिनले चिल्चिलाहट नियन्त्रण गर्ने स्नायुलाई सक्रिय गराउँछ ।
यसरी चिलाउनु र कन्याउनुको चक्र निरन्तर अघि बढ्ने तथा जति कन्यायो चिल्चिलाहटको दर उति नै बढ्ने दुस्चक्र मुसामा फेला परेको छ । यसको मुख्य कारकको रुपमा रहेको सेरोटोनिन हर्मोनको उत्सर्जन कम गराउँदा चिल्चिलाहटमा कमी आउने तथ्य समेत फेला परेको छ । यस सम्बन्धि शोध न्युरोन म्यागेजिनमा प्रकाशित छ ।


www.onlinekhabar.com

, ,

news and entertainment