पाँच जिल्ला तराईमा कि पहाडमा राख्ने भन्ने विवाद
२१ पुस, काठमाडौँ ।
संविधान निर्माणका विषयमा सहमति जुटाउन बसेको चार प्रमुख शीर्ष नेताको बैठकमा राज्यपुर्नसंरचनाको सम्बन्धमा विवादित मानिएका पूर्वी तराइका ३ र सुदूरपश्चिमका २ जिल्लाबारे छलफल केन्द्रित भएको छ ।
पूर्वका झापा, मोरङ, सुनसरी र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर जिल्ला पहाडी प्रदेशमा कि तराईमा राख्ने भन्नेमा मुख्य विवाद छ ।
सहमतिमा लागि राज्यपुनर्संरचनामा जटिल मानिएका तराइका पाँच जिल्लाको विवाद टुंग्याउनुपर्ने आवश्यकता दलहरुले महसुस गरेका छन् ।
पाँच जिल्लालाई टुक्र्याएर केही भूभाग तराई र केही पहाडी प्रदेशहरुमा राखेर सहमति खोज्न दलहरु प्रयत्नरत रहेको एमाओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
'दुवै पक्षलाई जितजित हुने गरी तराईका ५ जिल्लाको केही भूभाग तराई र केही पहाडमा राखेर मिलाउन सकिन्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएका हौ । अहिलेको छलफल त्यसैमा केन्द्रित छ,' उनले भने ।
यसअघिको छलफलमा कांग्रेस-एमाले ती जिल्लालाई पहाडी प्रदेशमा राख्नुपर्ने र मधेसी दलहरु तराईकै प्रदेशमा राख्नुपर्ने अडानमा थिए ।
एमाओवादीले पनि मधेसी दलहरुको अडानलाई समर्थन गरेको थियो । एमाओवादीले पहिचानसहितका प्रदेश बनाउन जोड गरिरहेको छ ।
अहिले नै पहिचान सुनिश्चित हुने भए ६ प्रदेशमै पनि सहमति गर्न सकिने एमाओवादीको भनाई छ । त्यसैले पाँच जिल्लाको विवाद मिले दलहरुलाई प्रदेशको संख्या टुंगो लगाउन सहज हुने देखिन्छ ।
