६ हजार ८ सय पदका लागि ५ लाख ६० हजारको दरखास्त


January 7
काठमाडौं । सरकारी सेवाप्रति युवाको आकर्षण बढेको छ । माग भएको पदभन्दा झन्डै सयगुना दरखास्त पर्ने गरेका छन् । सरकारी सेवामा प्रवेशका लागि दरखास्त दिनेको संख्या चार वर्षयता दोब्बर बढेको लोकसेवा आयोगको तथ्यांक छ ।
आयोगका अनुसार आर्थिक वर्ष ०७०र७१ मा विभिन्न ६ हजार आठ सय १३ पदको विज्ञापनमा पाँच लाख ६० हजार नौ सय १५ जनाले दरखास्त दिएका छन् । यो संख्या हालसम्मकै बढी रहेको आयोगले जनाएको छ ।
आव ०६९र७० मा पाँच हजार ७८ पदका लागि तीन लाख ६८ हजार आठ सय पाँचजनाले दरखास्त दिएका थिए । आव ०६८र६९ मा तीन हजार पाँच सय ९२ पदमा दुई लाख ७१ हजार पाँच सय ७७ र आव ०६७र६८ मा तीन हजार ६ सय ६५ पदमा दुई लाख ५१ हजार ६ सय ५१ जनाले दरखास्त दिएको आयोगको तथ्यांक छ ।
लोकसेवा आयोगका सदस्य टीकादत्त निरौलाले सरकारी जागिरमा आकर्षण बढ्दै गएकाले दरखास्त दिनेहरूको संख्या गुणात्मक रूपमा वृद्धि भएको बताए । सरकारी जागिर सुरक्षित भएकाले युवाहरूको आकर्षण बढेको उनको भनाइ छ । उनले भने, ‘सरकारी जागिरमा एक किसिमको ग्ल्यामर छँदै छ, यसमा छिरेपछि सामाजिक सम्मानका साथै सम्बन्ध र सम्पर्कसमेत बढ्ने भएकाले आकर्षण देखिएको हो ।’
कलेज टप गर्नेहरू पनि सरकारी सेवामा प्रवेश गर्न परीक्षामा सहभागी हुने गरेको सदस्य निरौलाले बताए । उनका अनुसार विदेशमा उच्च शिक्षा हासिल गरेकाहरू पनि लोकसेवाको परीक्षामा सहभागी हुने गरेका छन् ।
सरकारी सेवा प्रवेश परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्ने गरेको छ । आयोगले प्राविधिक, अप्राविधिक सेवाका खरिदारदेखि सहसचिवसम्मका पदको परीक्षा लिएर छनोट भएका व्यक्तिलाई नियुक्ति गर्न सिफारिस गर्दै आएको छ ।
आयोगले कुनै पनि पदमा विज्ञापन गरेपछि दरखास्त दिनेहरूको घुइँचो नै लाग्ने गरेको छ ।
पछिल्लोपटक आयोगले मागेको शाखा अधिकृत तहको ६ सय ६५ पदका लागि २० हजारभन्दा बढीको आवेदन परेको छ । दोब्बर दस्तुर तिरेर दरखास्त पेस गर्ने अन्तिम दिन २२ पुससम्म पनि आयोगमा दरखास्त दिनेको भीड थियो ।
आयोगका प्रवक्ता रुद्रप्रसाद सिटौलाले सरकारी सेवाप्रतिको आकर्षण अझ बढाउन प्रचारात्मक कार्यक्रम गर्नुपर्ने बताए । विभिन्न जिल्लामा आयोग आफैँले प्रचारात्मक कार्यक्रम गर्ने गरेको उनको भनाइ छ ।
सरकारी सेवामा सुविधै सुविधा
स्थायी सरकारका रूपमा रहेको निजामती सेवाका कर्मचारीलाई सुविधै सुविधा छन् । तिनै सेवा–सुविधाका कारण पनि सरकारी सेवामा युवाको आकर्षण बढेको छ ।
निजामती कर्मचारीले सेवानिवृत्त भएपछि तलबको आधा पेन्सन पाउँछन् ।
कर्मचारीको कुल तलबको १० प्रतिशत रकममा त्यति नै थपेर सञ्चय कोषको व्यवस्था गरिएको छ । उच्च तहका कर्मचारीले राज्यबाट गाडी, चालक तथा विदेश भ्रमणलगायत सुविधा पनि पाउँछन् ।
एकपटक मात्रै साताव्यापी विदेश भ्रमण गर्दा कर्मचारीले डेढ लाख रुपैयाँसम्म लिएर आउने गरेका छन् । कर्मचारीले विदेश भ्रमण गर्दा दैनिक दुई सयदेखि दुई सय ५० डलरसम्म भत्ता पाउने गरेका छन् । आजको नयाँ पत्रिकामासमाचार छ ।


,

news and entertainment