दुर्घटनाग्रस्त एयरएसिया विमानका ठूला भाग फेला




१९ पुस, एजेन्सी ।

इन्डोनेसियामा खोजकर्ताहरूले एयरएसियाको उडान ८५०१ को गत साता १६२ यात्रुसहित समुद्रमा दुर्घटनाग्रस्त विमानका दुई ठूला भाग फेला पारेको जानकारी अधिकारीहरूले शनिबार दिएका छन् ।

इन्डोनेसियाको यातायात मन्त्रालयले उक्त विमान उडानको समयमा अनधिकृत समयतालिकामा उडेको बताएको समयमै ती भाग फेला पारिएको बताइएको छ । हाल यस विमानसेवालाई सुराबायादेखि सिङ्गापुरको हवाई मार्गमा उडान नगर्न भनिएको छ ।


विमानका भागहरू बोनिर्यो द्वीपभन्दा पर जाभाको समुद्र क्षेत्रमा फेला पारिएको हो । यसले उक्त विमानमा रहेका थप यात्रुका शव तथा विमानको ब्ल्याक बक्स फेला पर्नसक्ने आशा बढेको छ । उक्त दुर्घटनाको कारण पत्ता लगाउन यी वस्तु आवश्यक भएको बताइएको छ ।

खोज तथा उद्धार संस्थाका प्रमुख बामबाम सोलिस्त्योले आफूहरूलै तेल पोखिएको र दुई ठूला भाग फेला पारेको र यी विमानको भाग भएको जानकारी पत्रकारहरूलाई दिए ।

हालसम्म खोजदलले एयरबस ए३२०–२०० का ३० यात्रुको शव फेला पारेका छन् । उनले अब विमानका टुक्रा फेला परेका स्थानमा थप शव खोज्न पौडीवाजहरूलाई पठाइने जानकारी दिए । हाल शव खोज्ने कार्यलाई ध्यान दिइएको उनले बताए ।


हवाई यातायातका महानिर्देशक जोको मुर्जात्मोजोले उक्त विमान अनधिकृत तालिकामा उडेकाले एयरएसियालाई उडान ८५०१ का लागि दिइएको मार्ग हाल स्थगन गरिएको जानकारी दिए ।


उनले उक्त विमानलाई स्वीकृति दिइएको मार्ग उल्लङ्घन भएको र त्यो समस्या भएको बताए । उनले अनुसन्धान सम्पन्न नभएपछि उक्त मार्गको यात्राअनुमति स्थगन गरिएको बताए ।

यातायात मन्त्रालयका प्रवक्ता जे.ए. बाराताले एयरएसियलाई आइतबारको दिनमा सुराबायादेखि सिङ्गापुरसम्म उडान गर्न अनमति नदिइएको र उक्त विमान सेवालाई आफ्नो कार्यतालिकामा परिवर्तन गर्न अनुमति पनि नदिइएको बताए ।

उक्त विमान मलेसियामा केन्द्रीय कार्यालय रहेको एयरएसियाको इन्डोनेसियाली एकाइ एयरएसिया इन्डोनेसियाले सञ्चालन गरेको बताइएको छ । खोज समूहले हाल खराब मौसमका कारण समस्या भोगिरहेको बताइएको छ ।

रसियाले खोज कार्यलाई सहयोग गर्न आफ्ना दर्जनौ पौडीवाजलाई घटनास्थलमा दुई विमानसहित पठाएको छ । फ्रान्सेली तथा सिङ्गापुरका अनुसन्धानकर्ताहरूले ब्ल्याक बक्स पत्ता लगाउने प्रयास गरिरहेको बताइएको छ ।

अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया तथा एसियाले पनि खोजी कार्यमा सहयोग गरिरहेका छन् ।
उक्त विमानमा १६२ यात्रु तथा विमानचालक सदस्य रहेकोमा तीमध्ये १५५ जना इन्डोनेसियाली, तीन दक्षिण कोरियाली, एक सिङ्गापुरे, एक मलेसियाली, एक बेलायती र एक फ्रान्सेली नागरिक रहेको बताइएको छ । रासस,एएफपी


,

news and entertainment