सभासद्सम्म पनि बैंकको ऋण नतिर्ने सूचीमा
वीरगन्ज । कृषि विकास बैंक वीरगन्ज शाखाबाट कर्जा लिएर नतिर्नेको सूचीमा सभासद्देखि ठूला उद्योगीसम्म रहेको पाइएका छन् ।
कर्जा नतिर्नेमा वीरगन्ज क्षेत्रमा राजनीति गर्ने सभासद्देखि यहाँका ठूला घरानाका उद्यमीसमेत रहेको जिल्ला कृषि विकास बैंकले जनाएको छ । बेला–बेला सरकारले कृषि बैंकबाट लिइएको ऋण मिनाहा गर्ने गरेका कारण कुनै समयमा ‘फेरि ऋण मिनाहा हुन्छ कि भन्ने आस र लोभका कारण’ लिएको कर्जासमेत उनीहरूले चुक्ता गर्न आलटाल गरिरहेको बैंकका कर्मचारी बताउँछन् ।
बैंकका शाखा प्रबन्धक पदम गौतमका अनुसार कर्जा रकम लिनेमा पर्सा क्षेत्र नम्बर २ का सभासद् विचारी यादव र बारा क्षेत्र नम्बर ४ का सभासद् नजमा खातुन छिन् । यद्यपि, ऋण खातुनले नभई उनका पति महमुद आलमले लिएको भए पनि उनको हत्या भएका कारण ऋण चुक्ता गर्ने अभिभारा सभासद् खातुनको थाप्लोमा आएको हो ।
सभासद् भन्दैमा आफूहरूले कर्जा लिन छाड्न नमिल्ने तर्क शाखा प्रमुख गौतमको छ । उनले सभासद् यादवको नाममा साँवा १६ लाख ४९ हजार १७६ रुपैयाँ रहेको र ब्याज ३४ लाख ४६ हजार ५१४ रुपैयाँ रहेको जानकारी दिए ।
यसरी नै सभसाद् खातुनले साँवा १० लाख र ब्याज ५८ लाख गरी ६८ लाख रुपैयाँ आफूहरूलाई बुझाउन बाँकी रहेको गौतमले जानकारी दिए । यसरी नै वीरगन्जका विभिन्न प्लास्टिक उद्योग र विभिन्न प्रकारका अन्य उद्योगले साँवा लिएर र ब्याज नतिरेको बैंकले जनाएको छ । बैंकले विभिन्न व्यक्ति तथा संस्थाबाट ४ करोड ब्याज र ८ करोड ६८ लाख साँवा असुली गर्न बाँकी रहेको बैंकले जनाएको छ ।
