को हुन्, जो हिराको जुत्ता लगाउँदै छन्

एजेन्सी । ‘हिराको हार दिन सक्दिनँ, दिलैको दरबार दिउँला दिलमाया’ यस्तै भाव र शब्दका गीत अझै पनि सुन्न पाइन्छ । भनिन्छ, शिरमा लगाए पनि पाउमा लगाए पनि हिरा हिरा नै हुन्छ ।

 यी भनाइले अरु केही नभएर हिराको महत्व र मूल्यलाई नै संकेत गर्छ । कि हिरा मूल्यवान रत्न हो । तर, यही मूल्यवान् रत्नलाई एक धनाढ्यले जुत्ता बनाएर लगाउँदै छन् ।


खबर भारतको हो । खास खबरका अनुसार गुजरात राज्यको सुरत सहरमा रहेको एक हिरा पसलका कालिगडले १२ सय सक्कली हिरा जडेर एक जोर जुत्ता बनाउँदै छन् ।

 सुरत सहर कपडा उद्योगका साथै हिरा काट्ने र चम्काउने सहरका रुपमा चिनिन्छ । पसलका मालिक दिलीप साह भन्छन्, ‘हामीले सबैभन्दा महँगो जुत्ता बनाउँदै छौँ । एउटा जुत्तामा ६ सय सक्कली हिरा जडिनेछ । यो जुत्ता दुई महिनाभित्र तयार हुन्छ ।’

हिरा जडिएका अनेकौँ पहिरन वा सामान आज दुनियाँमा प्रचलित छन् । तर, पहिलोपटक सुरत सहरमा हिरा जडिएको जुत्ताको अर्डर आएको बताइएको छ । सुरत सहरमा हिराको बेल्ट, पेनड्राइभ आदिको अर्डर आए पनि पहिलोपटक मात्रै हिरा जडिएको जुत्ताको अर्डर आएको हो ।

दिलीप भन्छन्, ‘हामीले पहिलोपटक जुत्तामा गहनाको प्रयोग गरेका हौँ । यो जुत्ता दुवैका एक ग्राहकले अर्डर गरेका हुन् ।’
यसअघि एक गहना डिजाइनरले दिल्लीका एक ग्राहकका लागि जुत्ताको तुनाको क्लिपमा हिरा प्रयोग गरेका थिए । जसको मूल्य दुई लाख भारतीय रुपैयाँ थियो ।

news and entertainment