भूत भगाउने नाममा महिलालाई पुजारीले निर्वस्त्र बनाएपछि
एजेन्सी । संसारभरि नै अनेक अन्धविश्वास विद्यमान छन् । अन्धविश्वासको सिकार तिनै भएका छन्— जो अशिक्षित छन्, गरिब छन्, धार्मिक छन् वा निरीह छन् । हाम्रो समाजमा अझै पनि बोक्सी, भूत, धामी, झाँक्रीका कुरा नौला होइनन् ।
तर, खबर भारतको हो । खबरअनुसार एक पुजारीले भूत भगाउने भन्दै एक महिलालाई बलात्कार गरेका छन् ।
भारत मध्यप्रदेशको राजधानी भोपालमा एक मन्दिरका पुजारीले भूत भगाउने नाममा आफूलाई बलात्कार गरेको उजुरी प्रहरीलाई दिएपछि घटना बाहिर आएको हो ।
३४ वर्षीया ती महिला पछिल्लो चार वर्षदेखि त्यस मन्दिरमा जाने गर्थिन् । तीन महिला भन्छिन्, ‘एक महिनापहिला मन्दिरका पुजारी सन्तोष कुमार कौशिकले मलाई भने, तिमीमा राक्षसी आत्माले बास गरेको छ । विशेष पूजाका माध्यमबाट यसलाई भगाउन सकिन्छ ।’
विशेष पूजाका लागि आफ्नो घर आएका पुजारीले आफ्ना श्रीमानलाई घरबाहिर जान भनेको ती महिलाको आरोप छ ।
उनी भन्छिन्, ‘श्रीमानलाई बाहिर पठाएर पुजारीले पूजा सुरु गरे । पूजाका दौरानमा मलाई बेहोस बनाए । होसमा आउँदा म निर्वस्त्र थिए । र, मलाई संवेदनशील अंगमा पीडा भइरहेको थियो ।’
भोपाल निसातपुरा प्रहरीले आरोपीलाई अझै पक्रन नसकेको हिन्दी न्युज–२४ मा समाचार छ ।
