ठूला भ्रष्टाचारी समात: प्रधानमन्त्री


यम विरही |
२०७१ माघ २९ बिहीवार



समुद्रबाटै समातिन्‍छ : लोकमान
काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचारमा सानामात्र कारबाहीमा परेको तर ठूला उम्केको भनेर आफूसँग गुनासो आएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको ध्यानाकर्षण गर्दै कोइरालाले उक्त कुरा बताएका हुन्।


'भ्रष्टाचार गर्ने सानामात्र पर्छन्। ठूला उम्केका छन् भनेर गुनासो आएको छ', अख्तियारको २४ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले भने, 'दोषी नछुटून्, निर्दोष नपरून् भनेर ध्यान पुर्‍याउनुपर्छ।'

 निर्दोष व्यक्ति भ्रष्टाचारमा परे व्यक्तिगत प्रतिष्ठामा असर पर्ने भएकाले त्यस्तालाई नमुछ्न पनि उनले अख्तियारलाई सुझाए। 'अनुसन्धान तहकिकात गरेपछि मात्र कारबाही अघि बढाउनेतर्फ ध्यान जानु आवस्यक छ', कोइरालाले भने, 'निर्दोष प:यो भने व्यक्तित्वमा असर पर्छ। व्यक्तिको प्रतिष्ठामा संवेदनशील हुनु आवश्यक छ। त्यस्तो हुन नदिन विशेष ध्यान दिनुपर्‍यो।'

उनले निर्वाचनका बेला आफूले मतदातासामु भ्रष्टाचारविरुद्ध जीवन अर्पण गरेको प्रसंग राखेको स्मरण गर्दै आफू विकास, सुशासन र पारदर्शिताका पक्षमा लागिपरेको बताए।

दिल्लीमा भ्रष्टाचारविरुद्धको नाराकै कारण आम आदमी पार्टीले ठूलो जित हासिल गरेको उदाहरण दिँदै उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइनुपर्नेमा जोड दिए।

कोइरालाले मुलुकमा 'गुड गभर्नेन्स' को अभावमा विकासका लागि आउने अर्बौं बजेट सदुपयोग हुन नसकेको तितो यथार्थ पनि पोखे। ट्रान्सपरेन्सीको प्रतिवेदनले पनि सबैतिर भ्रष्टाचार बढेको भनेर देखाएको उनले बताए।

भारतसँगको ऊर्जा व्यापार सम्झौता, माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाको विकास सम्झौता, पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लगानी भित्रिनु विकासमा महत्त्वपूर्ण उपलब्धि रहेको दाबी प्रधानमन्त्रीको थियो।

कोइरालाले आन्दोलनमा उत्रिएका एमाओवादीलगायत विपक्षी दलसँग वार्ता गरेर संविधान निर्माणमा छिट्टै सहमति हुने विश्वास व्यक्त गर्दै सहमति नभए मात्र प्रक्रियामा जाने स्पष्ट पारे।

अख्तियारका प्रमुख आयुक्त कार्कीले अख्तियारविरुद्ध संगठित रूपमा आलोचना भइरहेको बताए। उनले अख्तियारबाट कारबाही हुने डरले काम नै नगर्ने प्रवृत्ति पनि बढेर गएको बताउँदै भने, 'यस्तालाई कडा निगरानीमा राखिएको छ। तर इमानदार र कर्तव्यनिष्ठ डराउनुपर्दैन।'

कार्कीले कारबाहीबाट उम्कन मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गराउने प्रवृत्ति बढेर गएको भन्दै असन्तुष्टि पोखे। भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक इच्छाशक्ति ठूलो हतियार भएको बताउँदै कार्कीले सबैको सहयोगबिना अख्तियारले मात्र भ्रष्टाचार रोक्न सम्भव नरहेको प्रस्ट पारे।

साधन र स्रोत उच्चवर्गकै पहुँचमा रहेको भनाइ उनको थियो। अख्तियारले दिएका सुझावलाई सरकारले परम्परागत रूपमा मात्र लिने गरेको गुनासो उनले गरे।

'यहाँ ठूलो माछा समात्ने कुरा आएको छ। यदि साना भनेर छाड्ने हो भने कहाँबाट सुरु गर्ने त?' कार्कीको प्रश्न थियो, 'ठूलो माछा त समुद्रमा मात्रै बस्छन्। तर जनआकांक्षा पूरा गर्ने दिशामा यहाँ सबैलाई साक्षी राखेर भन्छु- ठूलो माछा समात्ने कुरा साकार हुने छ।'

भ्रष्टाचार सानो ठूलोभन्दा पनि सेवाको बढोत्तरीमा मूल्यांकन गर्नुपर्ने बताउँदै भ्रष्टाचारमा संलग्न कसैलाई छुट नदिने दृढता व्यक्त गरे।

कार्यक्रममा अख्तियारले भ्रष्टाचारविरुद्ध समाचार र स्तम्भ लेखेर योगदान पुर्‍याएको भन्दै अन्नपूर्ण पोस्ट् दैनिकलगायत सञ्चारमाध्यम र सञ्चारकर्मीलाई पुरस्कृत गरेको थियो। यस्तै अख्तियारका पूर्वप्रमुख आयुक्त राधारमण उपाध्याय, मधुसूदन गोर्खाली र सूर्यनाथ उपाध्यायलाई पनि सम्मान गरियो।

संख्‍याभन्दा सफलता हेर : राष्ट्रपति

राष्ट्रपति डा. रामवरण यादवले मुद्दाको संख्या बढाउनुभन्दा सफलतामा ध्यान दिन अख्तियारलाई सुझाव दिएका छन्।

उनले छानबिनमा अदालतले जस्तै 'न्यायिक मन' प्रयोग गर्नुपर्ने पनि बताए। 'मुद्दा संख्या बढाउने भन्दा पनि अदालतबाट प्राप्त सफलतालाई ध्यान दिनुपर्छ', अख्तियारको वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले भने।

राष्ट्रपतिले अनुसन्धान गर्दा व्यक्तिको मौलिक हक, सम्मान र अधिकार पनिख्याल गर्न अख्तियारको ध्यानाकर्षण गरे। 'सय अपराधी छुटून्, तर एक निरपराध व्यक्ति नफसोस् भन्नेमा अख्तियारको ध्यान जाओस्' उनले भने।

अरू भन्दा श्वेतपोस भ्रष्टाचार ठूलो रहेको बताउँदै यादवले नीतिगत भ्रष्टाचारमा कारबाही हुन नसकेको भनेर आफूले सुनेको बताए। उनले भने, 'लोकतन्त्रमा कानुनभन्दा माथि कोही छैन।'

एक प्रसंगमा राष्ट्रपतिले हठ त्यागेर वार्तामार्फत मुलुकलाई निकास दिन पनि दललाई आग्रह गरे। छिटो संविधान बनेर संक्रमणकाल हटे भ्रष्टाचार पनि कम हुने भनाइ उनको थियो। सीमित साधन र स्रोतबीच भ्रष्टाचार नियन्त्रणमा अख्तियारले निर्वाह गरेको भूमिकाको उनले सराहना पनि गरे।

,

news and entertainment