लेखेर राख्नोस् ! बैसाखमा सरकार ढल्छ : अमरेश
दश दिनमा वार्ता नभए त्यसपछिको वार्ता नयाँ सरकारसँग
२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहलाई कतिपयले नेपाली राजनीतिको भविश्यवेत्ता पनि भन्छन् । उनको ‘एनालाइसिस’ सुनेर राजनीति गर्ने नेताहरु धेरै छन् नेपालमा ।
आगामी फागुन १६ गते एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले राजधानीमा गर्न लागेको जनप्रदर्शनले आन्दोलनकारीको तागत मापन हुने सिंहको विश्लेषण छ । उनी भन्छन्- ‘त्यसपछि चैतदेखि आन्दोलन उठ्छ र बैशाखभित्र यो सरकार ढल्छ ।’
प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी मोर्चालाई पत्र पढाउँदा विचार नपुर्याएकाले वार्ताको वातावरण बन्न नसकेको सिंह बताउँछन् । विपक्षीको मागलाई सम्बोधन गर्ने गरी अर्को पत्र लेखेको अवस्थामा तत्काल वार्ता हुन सक्ने उनको तर्क छ ।
अहिले प्रक्रिया स्थगित भएन भने विपक्षी दलहरुले सुशील कोइरालाको राजीनामालाई एकमात्र शर्त बनाउने सिंहले बताए ।
तर, प्रधानमन्त्रीले यसरी तारन्तार पत्र लेखिरहँदा विपक्षीसँग निहुरिएजस्तो देखिँदैन ? यो प्रश्नमा सिंह भन्छन्- ‘पहिले मधेस आन्दोलन हुँदा गिरिजाप्रसादले गरेको काम हेरे हुन्छ, झुक्दिँन भन्दा मधेस आन्दोलनमा धेरैको ज्यान गयो र गिरिजाप्रसाद झुक्न बाध्य भए ।’
‘तर, अहिले आन्दोलन उठ्ने सम्भावना छ र ?’ यो प्रश्नमा अमरेशले दिल्लीको चुनाव सम्झिए । ‘त्यहाँ कांग्रेस र अरु सबैले बीजेपीलाई हराउन आपलाई सघाएको देख्नुभएन ?’ सिंहले प्रश्नका साथ जवाफ दिए- ‘आन्दोलनमा मधेसी, जनजाति, कमल थापा र खुमबहादुर खड्काले पनि प्रचण्डलाई साथ दिन्छन् । माधव नेपाल र शेरबहादुरले पनि साथ दिन्छन् । आन्दोलन त उठ्छ उठ्छ ।’
