कोइराला-ओलीले ज्ञानेन्द्रलाई जवाफ दिनु पर्छः प्रचण्ड
७ फागुन, काठमाडौं ।
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रसँग आफ्नो पार्टीको कुनै सम्झौता नभएको स्पष्ट पारेका छन् ।
विहीबार काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कार्यकर्तालाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रको जवाफ नेपाली काँग्रेस र नेकपा-एमालेले नै दिनुपर्छ भने ।
पार्टी बिग्रँदै गएकाले जनताबाट टाढा भएको बेला काँग्रेस र एमालेले आफूलाई संविधानसभाबाट धकेलेर जनताकाबीचमा पुर्याएको भन्दै उनले एमाले अध्यक्ष ओली र प्रधानमन्त्री सुशील कोइरालालाई धन्यवाद पनि दिए ।
अध्यक्ष दाहालले तत्कालीन भट्टराई सरकार रहेका बेला काँग्रेस र एमालेका नेताहरू आफ्नो निवास लाजिम्पाट आएर रोएका कारण सरकार छाडेको उल्लेख गर्दै आफूहरू सोझो भएको फाइदा काँग्रेस र एमालेले लिएको बताए ।
अध्यक्ष दाहालले काँग्रेस र एमालेले मतादेशको आधारमा जनादेशलाई लत्याउन खाजेको आरोप लगाउँदै अहिले काँग्रेस र एमाले निरङ्कुशरुपमा अघि बढ्न खोजेको बताए ।
महासचिव कृष्णबहादुर महराले अहिले यथास्थितीवादी र प्रतिगामी शक्तिबीच द्वन्द्व चलेको उल्लेख गर्दै जनताको आन्दोलनबाट प्रतिगामीलाई परास्त गरिने बताए ।
यसअघि, क्रान्तिकारी पत्रकार सङ्घ काभ्रेपलाञ्चोकले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले वार्ताको वातावरण बनाउन आन्दोलन गर्न लागेको बताएका थिए । रासस
