नयाँ संविधान आजदेखि

नयाँ संविधान आजदेखि

नरेन्द्र साउद |
२०७२ आस्विन ३ आईतवार



राष्ट्रपतिलाई फकाउने अन्तिम प्रयास

काठमाडौं: संविधान हर्षोल्लाससाथ जारी तयारी भइरहेका बेला सरकारले प्रक्रियाप्रति असन्तुष्टि जनाएका राष्ट्रपति तथा बहिष्कार गरेका सभासद् र मधेसकेन्द्रित दलहरूलाई फकाउने अन्तिम प्रयास गरेको छ। राष्ट्रपति डा.रामवरण यादवले आइतबार साँझ ५ बजे संविधानसभामा हुने औपचारिक कार्यक्रममार्फत संविधान लागू भएको घोषणा गर्नेछन्




संविधान राष्ट्रपतिमार्फत घोषणा गर्ने पूर्वनिर्धारित कार्यक्रममा केही फेरबदल गरी राष्ट्रपतिलाई मन्त्रिपरिषद्द्वारा अनुमोदित सम्बोधनको अवसर दिइनेछ भने बहिष्कार गरेका सभासद्हरूलाई आइतबार चार बजेभित्र हस्ताक्षर गर्ने अवसर दिइने सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन्।





राष्ट्रपतिले मधेस केन्द्रित दलहरूको असन्तुष्टिलाई सम्बोधन गरेरमात्र संविधान जारी गर्न प्रधानमन्त्री तथा प्रमुख दलहरूका नेता र संविधानसभाका अध्यक्षलाई दबाब दिँदै आएका थिए र उनको कुरा नसुनिएकामा सार्वजनिक रूपमा मात्र होइन, भारतीय प्रधानमन्त्रीका विशेष दूतका रूपमा आएका एस जयशंकरलाई समेत आफ्नो असन्तुष्टि अवगत गराएका थिए।


 बहिस्कार गरेका सभासद्‌लाई आइतबार चार बजेभित्र हस्ताक्षर गरन सभाध्‍यक्षले आग्रह गर्ने छन्।

'संवैधानिक राष्ट्रपतिको प्रमुख सल्लाहकार मन्त्रिपरिषद् हो। मन्त्रिपरिषद्कै नाममा राष्ट्रपतिले काम गर्ने भएपछि मन्त्रिपरिषद्ले पारित गरेको वक्तव्य राष्ट्रपतिले घोषणासभामा दुईतीन मिनेट पढ्नुहुन्छ,' स्रोतले भन्यो।



मन्त्रिपरिषद्ले पारित गरेको वक्तव्य पढ्न दिने तयारीप्रति राष्ट्रपति भने असन्तुष्ट छन्। 'मन्त्रिपरिषद्ले बनाउने वक्तव्यप्रति राष्ट्रपतिको चित्त नबुझे अरू कुनै फोरममार्फत एकदुई दिनमा राष्ट्रपतिको धारणा सार्वजनिक हुन्छ,' राष्ट्रपति कार्यालय स्रोतले भन्यो।

 संसद् सचिवालयले संविधान जारी हुने घोषणासभाका सबै औपचारिक तयारी पूरा भएको उल्लेख गरेको छ। संविधान जारी गर्न बेहुली झैं सिंगारियो संविधानसभा (फोटो फिचर)





नयाँ संविधान लागू भएसँगै ०६३ सालदेखि क्रियाशील अन्तरिम संविधान स्वतः खारेज हुनेछ।संविधानसभा सचिवालयले घोषणासभा भव्य बनाउन शनिबार पूर्वाभ्यास (रिहर्सल) गरेको थियो। नक्‍कली राष्ट्रपति बनाएर राष्ट्रपतिको सम्मान कसरी गर्ने, राष्ट्रपतिले कसरी संविधान जारी गर्ने पूर्वाभ्यास संविधानसभा भवनमा शनिबार भएको थियो।



संविधानसभाको अन्तिम बैठकमा राष्ट्रपतिले बोलेपछि संविधानको प्रतिमा हस्ताक्षर गरी लागू भएको घोषणा गर्नेछन्। घोषणासभामा विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रमुख र विघटित संविधानसभाका सदस्यलाई पनि आमन्त्रण गरिएको छ।



घोषणासभापछि सभाध्यक्ष नेम्बाङले पाहुनाका लागि संविधानसभा भवनमै रात्रिभोज दिँदैछन्। 'संविधान जारी गर्ने समारोहका लागि सबै औपचारिकता पूरा भएका छन्', सभाध्यक्ष नेम्बाङले भने, 'नयाँ संविधान लागू भएको हेर्न आमजनता उत्सुकतापूर्वक पर्खेर बसेका छन्।'



सभाध्यक्ष नेम्बाङले संविधान निर्माण प्रक्रिया बहिष्कार गरेका दलहरूलाई आइतबार ४ बजेसम्म संविधानमा हस्ताक्षर गर्न आग्रहसमेत गरेका छन्।

 'संविधान निर्माणको अन्तिम चरणमा अनुपस्थित भएका दल र सभासद्हरूलाई संविधानमा हस्ताक्षर गरेर स्वामित्व लिन आग्रह गर्छु,' सभाध्यक्ष नेम्बाङले सञ्चारकर्मीसँग भने, 'संविधानका एकएक धारा र वाक्यांश हेर्दा जो बाहिर जानुभयो, उहाँहरूको भूमिका झल्किन्छ।  संविधानका केही विषयमा असहमतिका नाममा सिंगो संविधानको स्वामित्व ग्रहण नै नगर्नेतिर नजानुहोला।'



संविधानको प्रक्रियामा भाग नलिएका दलहरूको मेहनत र संघर्षको पसिना नयाँ संविधानमा परेको भन्दै नेम्बाङले भने, 'यही संविधानको जगमा उभिएर कतिपय असन्तुष्टि सम्बोधन गर्नेतिर लाग्नुहोस्।'



नयाँ संविधानमा पाँच सय ३७ सभासद्ले हस्ताक्षर गरेका छन्। संविधानको विपक्षमा मतदान गरेको राप्रपा नेपालले पनि संविधानमा हस्ताक्षर गरेको छ। सभाध्यक्ष नेम्बाङले शुक्रबार संविधान प्रमाणित गरेका थिए।
annapurnapost

,

news and entertainment