असन्तुष्ट दुवै मोर्चाले भने : ‘वार्ता भनेको बिहेको निम्तो पठाएजस्तो हो ? ’
असन्तुष्ट दुवै मोर्चाले भने : ‘वार्ता भनेको बिहेको निम्तो पठाएजस्तो हो ? ’
असोज २, काठमाडौं ।
तीन दलले वार्ताका लागि पुन: आह्वान गरेकामा असन्तुष्ट दुवै मधेसी मोर्चाले कडा प्रतिक्रिया दिएका छन् । वार्ताका लागि कुनै प्रस्ताव नराखी ठूला दलले संविधानको पूर्वसन्ध्यामा प्रचारबाजीमात्रै गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय लोकतान्त्रिक मोर्चाको टिप्पणी छ ।
‘न विगतका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता छ, न हाम्रा चारबुदे मागको सुनुवाई छ, वार्ता भनेको बिहेको निम्तो पठाएजस्तो हो र ?’ समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले प्रश्न गरे, ‘हामी वार्ताको ढोका खुला राखेर आन्दोलनमा हिड्यौं ।’
तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले तीन दलको वार्ता प्रस्ताव ‘कर्मकान्डी’ भएको टिप्पणी गरे । ‘ठोस प्रस्ताव केही छैन, वार्ता वार्ता भन्दै कराएर मात्रै हुन्छ ?’ उनले प्रश्न गरे । तीन दलको सम्बोधनमा तराई मधेस शब्दसमेत उल्लेख नभएको भन्दै मधेसी दलहरुले असंवेदनशीलताको पराकाष्ठा भनेका छन् ।
संविधानमा हस्ताक्षर गर्न संविधान आइतबार चार बजेसम्म समय दिए पनि असन्तुष्ट फोरम लोकतान्त्रिक संविधानसभा नजाने बताएको छ । शनिबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले संविधानमा हस्ताक्षर हुने कुनै सम्भावना नरहेको बताएको हो । बैठकपछि कुरा गर्दै महासचिव रामजनम चौधरीले अब वार्ताका लागि समय खेर नफाली आन्दोलनको तयारी गर्ने निर्णय भएको बताए । तीन दलले वार्ताका लागि पुन: आह्वान गरे पनि अहिलेकै अवस्थामा वार्ताको कुनै सम्भावना नरहेको उक्त दलको निर्णय छ । ‘विदेशीहरुका सामु आफू वार्ता पक्षधर रहेको सन्देश दिन उहाहरुले फेरि आह्वान गर्नुभएको होला,’ चौधरीले भने ।
सद्भावना महासचिव मनिषकुमार सुमनले मधेसका मारिएका आन्दोलनकारीलाई सहिद घोषणा, क्षतिपूर्ति केही नदिई वार्ता हुन नसक्ने बताएका छन् । दुवै मधेसी मोर्चाले संविधानमा हस्ताक्षर गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । सद्भावनाले यसअघि नै संविधानसभा परित्याग गरिसकेको छ ।
ekantipur
