भारतीय राजदूतसँग सरकारले जोड्यो हात, अत्यावश्यक वस्तुको आपूर्तिमा सघाउन आग्रह
काठमाडौँ, ८ असोज । सरकारले भारतसँगको सीमा
बिन्दुको वर्तमान अवस्थाबारे जानकारी गराउँदै
नेपालका लागि भारतका राजदूत रणजित रायलाई
अत्यावश्यक सामग्री बोकेका सवारी साधनको
निर्वाध आवागमनमा सघाउन भारतसँग आग्रह गरेको छ
।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज
अधिकारीले आज अपराह्न भारतीय राजदूतलाई
परराष्ट्र मन्त्रालयमा भेटेर विगतमा झैँ बिना
व्यवधान अत्यावश्यक सामग्री ढुवानीका साधनको
आवागमनमा सहयोग गर्न भारत सरकारसँग अनुरोध
गर्नुभएको हो ।
दुवै देशका सरकार र जनताबीचको विद्यमान सुमधुर
सम्बन्धबारे चर्चा गर्दै मन्त्री अधिकारीले आपूर्ति
चक्रमा हालैका दिनमा देखिएको अवरोध हटाउन
आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मालसामान ढुवानी गर्ने सवारी साधनलाई नेपाली
भूमिमा सुरक्षासम्बन्धी कुनै समस्या हुन नदिन सुरक्षा
व्यवस्था मिलाइएको तथा नेपालमा रहेका भारतीय
नागरिक र उनीहरूको सम्पत्तिको सुरक्षा गर्ने
सरकारको प्रतिबद्धता मन्त्री अधिकारीले दोहो
¥याउनुभयो ।
नेपाल सरकारले प्रस्तुत गरेका विषयलाई भारत
सरकारका उच्च अधिकारीसमक्ष प्रस्तुत गर्ने
जानकारी राजदूत रायले दिनुभएको परराष्ट्र
मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा
जनाइएको छ । रासस
