हामीले संविधान बनाउँदा छिमेकीको किन चित्त दुख्यो? : अध्यक्ष ओली

आश्विन १०, २०७२- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाट संविधान बन्नुलाई संयुक्त राष्ट्र संघलगायत विश्व समुदायले ऐतिहासिक मानेका बेला छिमेकीको किन चित्त दुखायो बुझ्न नसकिएको बताएका छन् ।


राजधानीमा आइतबार आयोजित कार्यक्रममा उनले छिमेकी भारततिर लक्षित गर्दै भने, 'संविधान हामीले हाम्रै लागि बनायौँ, कसैको विरुद्धमा बनाएका हैनौँ, तर किन हाम्रो मित्र चित्त दुखाउँछ थाहा छैन ।'

सोही कार्यक्रममा टीका भण्डारीद्वारा सङ्गीतबद्ध, इन्द्रनारायण चोङ्वाङको शब्द, रचना तथा गायकद्वय प्रमोद खरेल र शिव परियारको स्वर रहेको राष्ट्रभक्तियुक्त गीतले भरिएको गीति सङ्ग्रह ‘माटो’को लोकार्पण गर्दै अध्यक्ष ओलीले देश अप्ठ्यारोमा परेकाबेला देशभक्तिले भरिएको गीतिसङ्ग्रह निस्कनु संयोगमात्र नभएको धारणा राखे ।

गीतिसङ्ग्रहमा छवटा देशभक्तिपूर्ण गीत छन् । जसमा चार गीत गायक खरेल तथा दुई गीत अर्का गायक परियारले गाएका छन् ।

कार्यक्रममा वरिष्ठ गायक/गायिका प्रेमध्वज प्रधान र तारा थापालाई विशेष सम्मान गरिएको थियो ।

,

news and entertainment