महतो राजधानीको गौशालाबाट पक्राउ
महोत्तरी, १२ असोज । गाउँकै एक युवतीको हत्यामा संलग्न भएको आरोपमा नेपाली काँग्रेस महोत्तरी क्षेत्र नं ६ का क्षेत्रीय सभापति रामश्रेष्ठ महतोलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
सुन्दरपुर–७ सिंहासनीका रामएकवाल यादवकी १४ वर्षीया छोरी सबिताकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा सभापति महतोलाई महानगरीय प्रहरी वृत्त कार्यालय गौशाला, काठमाडौंले राजधानीको गौशाला क्षेत्रबाट पक्राउ गरेको हो ।
फाइल तस्वीर
फाइल तस्वीर
घटनाका मुख्य योजनाकार सोही गाउँका रामजीवन राउतलाई प्रहरीले घटनापश्चात् तत्कालै पक्राउ गरेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताउनुभयो । महोत्तरीको सुन्दरपुर घर भएका महतो घटनापश्चात् पक्राउ पर्ने डरले फरार रहँदै आएका स्थानीय बासिन्दाले बताएका छन् ।
महतोलाई कर्तव्यज्यान मुद्दाको आरोपमा प्रहरीले आइतबार साँझ राजधानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सौरभ सिंह राणाले बताउनुभयो । उनलाई गएराति महोत्तरी ल्याएको र आज अदालतमा बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अभियुक्त महतो गौशालास्थित नवीन जनसेवा अस्पतालका सञ्चालकसमेत रहेका छन् । रासस
